Below Menu
Below Menu

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो २६ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा स्थिर

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो २६ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा स्थिर

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रुपमा थुप्रिएको निक्षेप एकैदिन २६ अर्बले घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चैत २४ गते बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप २६ अर्ब रुपैयाँले घटेको छ।

उक्त दिन कुल निक्षेप घटेर ७८ खर्ब १६ अर्ब रुपैयाँमा पुगेको छ, जबकि अघिल्लो दिनसम्म निक्षेप ७८ खर्ब ४२ अर्ब रुपैयाँ रहेको थियो।

यस अवधिमा वाणिज्य बैंकहरूमा मात्रै २६ अर्ब रुपैयाँ निक्षेप घटेको छ। अघिल्लो दिन ७० खर्ब ६८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप घटेर ७० खर्ब ६८ अर्ब रुपैयाँमा सीमित भएको छ। अन्य वित्तीय संस्थाहरूमा भने एक अर्ब रुपैयाँ निक्षेप बढेर कुल ७ खर्ब ७४ अर्ब रुपैयाँमा पुगेको छ।

निक्षेपमा गिरावट आए पनि कर्जा लगानीको वृद्धि भने निकै सुस्त देखिएको छ। सो अवधिमा जम्मा सात अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। 

हाल बैंक तथा वित्तीय संस्थाहरूले कुल ५८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरूको हिस्सा ५१ खर्ब ९९ अर्ब रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ६ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ।

यसैबीच, निक्षेपको उतारचढावसँगै अन्तरबैंक कारोबारको ब्याजदर स्थिर छ। हाल यस्तो ब्याजदर २.७५ प्रतिशत रहेको छ। यस्तै, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) भने बढ्दो क्रममा रही ७४.०२ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

Advertisment

थप समाचार