काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो ।
बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडी रेसियो पनि बढ्न थालेको छ । केही समयअघिदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी केही मात्रामा बढ्न थालेको हो ।
राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ७८ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७० खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ७७७ अर्ब रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५८ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ५२ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ४७ रुपैयाँ लगानी गरेका छन् ।
बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७४.०७ प्रतिशत रहेको छ ।
Advertisment