काठमाडौं : एसएन इनर्जी लिमिटेड प्रवर्द्धक रहेको २४ मेगावाट क्षमताको सुपर सेती जलविद्युत आयोजना निर्माणको लागत बढेको छ।
प्रारम्भिक अनुमान करिब ५ अर्ब ४ करोड रुपैयाँ रहेको आयोजनाको लागत विनिमय दरमा आएको उतारचढावका कारण बढेर ५ अर्ब १७ करोड ९० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
विशेषगरी नेपाली रुपैयाँ अमेरिकी डलरसँग कमजोर बन्दै जाँदा उपकरण तथा निर्माण सामग्रीको लागत बढेका काररण आयोजनाको लागत बढेको कम्पनीले जनाएको छ । जसअनसार आयोजनाको प्रति मेगावाट लागत करिब २१ करोड ६० लाख रुपैयाँ पुगेको छ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन यस आयोजना हाल प्रारम्भिक कार्यान्वयन चरणमा भए पनि निर्माण गतिविधि भने तीव्र गतिमा अघि बढिरहेको छ। कम्पनीका अनुसार परियोजनाले हालसम्म करिब १७ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको छ।
आयोजनालाई ऋण र स्वपुँजीको ७३ः२७ अनुपातमा अघि बढाउने योजना अनुसार करिब ३ अर्ब ७८ करोड रुपैयाँ ऋण र १ अर्ब ३९ करोड रुपैयाँ इक्विटी रहनेछ। यसमध्ये ऋण व्यवस्थापन पूरा भइसकेको छ भने प्रवर्द्धकहरूले करिब ६० करोड ८६ लाख रुपैयाँ लगानी गरिसकेका छन्।
आयोजनामा प्रमुख लगानीकर्ताका रूपमा नेको इन्स्योरेन्स लिमिटेड रहेको छ । एनएन इनर्जीमा इन्स्योन्सको १७.९६ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का एसएन इनर्जीको सञ्चालक समितिका अध्यक्षसमेत रहेका छन्।
आयोजनामा सानिमा बैंकले २ अर्ब ५० करोड रुपैयाँ र सिद्धार्थ बैंकले एक अर्ब २८ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनाबाट २०८४ कात्तिकदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
उक्त आयोजना रन-अफ-रिभर (आरओआर) मा आधारित आयोजना हो । हाल आयोजनाको भूमिगत संरचना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। हेडरेस टनेल तथा सडक सुरुङ निर्माणका लागि ब्लास्टिङ कार्य योजना अनुसार अघि बढिरहेको छ।
हालै गरिएको स्थलगत निरीक्षणले निर्माण कार्य स्वीकृत विस्तृत डिजाइन र निर्माण रेखाचित्रअनुसार भइरहेको पुष्टि गरेको छ। प्राविधिक परामर्शदाता टीएसी हाइड्रो कन्सल्टेन्ट प्रालिले विस्तृत इन्जिनियरिङ डिजाइन, निर्माण रेखाचित्र तथा प्राविधिक सुपरिवेक्षणको जिम्मेवारी सम्हालिरहेको छ।
आयोजनाको जलाधार क्षेत्रफल करिब १५६ वर्ग किलोमिटर रहेको छ भने डिजाइन डिस्चार्ज ८.५ घनमिटर प्रति सेकेन्ड र ग्रस हेड ३४४ मिटर निर्धारण गरिएको छ। उत्पादित विद्युत २१ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत लेखनाथस्थित सबस्टेशनमा जोडिनेछ।
यद्यपि आयोजनामा रन–अफ–रिभर प्रकृतिका कारण नदीको बहावमा हुने उतारचढावले प्रत्यक्ष रूपमा उत्पादनमा असर पार्ने उल्लेख गरिएको छ । विशेषगरी सुक्खा मौसममा पानीको उपलब्धता कम भएमा उत्पादन घट्ने जोखिम रहन्छ।
आयोजनाले उत्पादन हुने विद्युत बिक्रकिा लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । वर्षा र सुक्खा मौसमका लागि क्रमशः प्रति युनिट ४.८० रुपैयाँ र ८.४० रुपैयाँ दर निर्धारण गरिएको छ भने वार्षिक ३ प्रतिशतका दरले मूल्य समायोजन हुने व्यवस्था छ।
कम्पनीले दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधाका लागि ३ अर्ब ९० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ३ अर्ब ७८ करोड र अल्पकालिन कर्जाका लागि १२ करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो ।
Advertisment