Below Menu
Below Menu

वाणिज्य बैंकहरुले कमाए नौ महिनामा ४९ अर्बमाथि नाफा, तीन बैंक पुगेनन् अर्ब क्लबमा 

वाणिज्य बैंकहरुले कमाए नौ महिनामा ४९ अर्बमाथि नाफा, तीन बैंक पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरुले सवा ४९ अर्ब रुपैयाँ खुद  नाफा कमाएका छन् । प्रकाशित वित्तीय विवरण अनुसार बैंकहरुले चैत मसान्तसम्म ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा आइपुग्दा १३ बैंकहरुको नाफा बढेको छ भने सात वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा कुमारी बैंक रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा १३६१.७६ प्रतिशतले बढेको हो । चैतमसान्तसम्म आइपुग्दा प्रभु बैंकको नाफा ५४.६१ प्रतिशतले घटेको छ । 

सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक  

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले छ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको तुलनामा ३३.९२ प्रतिशतले बढी हो ।

गत वर्ष चार अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले यस वर्ष चार अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । जुन २.९३ प्रतिशतले कम हो ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकको नाफा १२९.३४ प्रतिशतले बढेको छ भने हिमालयन बैंकको नाफा ५२.४९ प्रतिशतले बढेको छ । त्यस्तै माछापुच्छ्रे बैंकको ५०.४३ प्रतिशत, सानिमाको ४२.२२ प्रतिशत र प्राइम कमर्सियल बैंकको नाफा ३८.५८ प्रतिशतले बढेको छ । 

अर्ब क्लबमा पुगेनन् तीन बैंक

चालु आवको नौ महिनामा आइपुग्दा तीन बैंकहरुको नाफा भने एक अर्बभन्दा कम रहेको छ । यस अवधिमा एनआईसी एशियाले १४ करोड तीन लाख रुपैयाँ नाफा कमाएको छ भने प्रभु बैंकले ८५ करोड १५ लाख र हिमालयन बैंकले ७६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  

Advertisment

थप समाचार