काठमाडौं : आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी(इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत अभिमुखीकरण सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम औद्योगिक उद्यम विकास संस्थानको समन्वयमा सञ्चालन गरिएको हो ।
यस कार्यक्रममार्फत ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई इन्क्युबेसन सहयोग प्रदान गर्ने लक्ष्य राखिएको छ । मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने हाइब्रिड मोडलको यस पहलअन्तर्गत सहभागी स्टार्टअपहरूले विशेषज्ञसँगको वान(टु(वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट तथा भ्यालिडेसन सपोर्ट र इन्भेस्टर रेडिनेस तयारी सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।
इन्क्युबेसन कार्यक्रममा १२ स्टार्टअप टोलीहरूः हुन्छ डिजिटल, खाजा घर, कृषि कम्पास, लोकल बजार, मन्थन, मेडिक्याब टेक्नोलोजिज प्रा। लि।, मेरो सफारी मेरो गुनासो, माइन्ड ब्रिज, सफारी यात्री, सजिलो, उत्सव इभेन्ट्स र भोल्टभी चयन भएका छन् ।
कार्यक्रममा विभिन्न प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सक्रिय विज्ञहरूले आफ्ना अनुभव साझा गरेका थिए । नेशनल इन्नोभेसन सेन्टरका टेक लिड सञ्जय पौडेल, लुनार टेक्नोलोजीका चन्द्र आचार्य र क्षितिज दहाल, किङ्सपायर टेक्नोलोजिजका केशब भण्डारी तथा काफल्सका एक्जिक्युटिभ चेयरम्यान सन्तोष धमलाले स्टार्टअप विकास, बजार विस्तार, लगानी तयारी र व्यवहारिक चुनौतीका विषयमा महत्वपूर्ण धारणा राखेका थिए ।
आयोजकका अनुसार, यस कार्यक्रमले काठमाडौं उपत्यकाभन्दा बाहिर उद्यमशीलता प्रवर्द्धन गर्दै क्षेत्रीय नवप्रवर्तन इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । इन्क्युबेसन पहलले उद्यमीहरूलाई उद्योग–विशेषज्ञसँग प्रत्यक्ष संवाद, व्यवहारिक तालिम तथा नेटवर्किङ अवसर उपलब्ध गराउँदै उनीहरूको व्यवसायिक मोडेल परिष्कृत गर्न सहयोग पुर्याउनेछ ।
कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सिड इन्भेस्टमेन्ट सपोर्टका साथै आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स तथा एआई कन्फरेन्सजस्ता राष्ट्रिय प्लेटफर्महरूमा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।
आईसीटी फाउन्डेसन नेपालले यसअघि पनि डिजिटल कर्णाली कन्क्लेभ तथा डिजिटल मधेश कन्क्लेभमार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । इटहरीमा सम्पन्न यो अभिमुखीकरण सत्रलाई कोशी प्रदेशमा स्टार्टअप इकोसिस्टम विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
कार्यक्रमका एसोसिएटेड पार्टनरहरूमा लुनार सोलुसन र नमुना कलेज, इटहरी रहेका छन् भने सपोर्टिङ पार्टनरहरूमा किन्स्पायर प्रालि र काफल्स रहेका छन् ।
Advertisment