Below Menu
Below Menu

चुनावी समीक्षा र भावी रणनीति तय गर्न कर्णालीमा आज कांग्रेसको प्रदेशस्तरीय भेला

चुनावी समीक्षा र भावी रणनीति तय गर्न कर्णालीमा आज कांग्रेसको प्रदेशस्तरीय भेला

सुर्खेत : नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचन समीक्षा सहित प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।

भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो ।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । 

भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराईले भेलाको तयारी पूरा भएको बताएका छन् । भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने बताए ।

भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुनेछ ।
बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबिच साझा धारणा निर्माणमा पनि विशेष जोड दिइनेछ ।

त्यसैगरी सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्य योजना तय गरिने बताइएको छ ।

Advertisment

थप समाचार