काठमाडौं : दोहोरो करसम्बन्धी व्यवस्थाका कारण विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको ‘कर्पोरेट ट्याक्स रिपोर्टिङबारे अन्तरक्रिया कार्यक्रम’ मा सहभागी वक्ताहरूले दोहोरो करसम्बन्धी व्यवस्थाको आफूखुसी व्याख्याले विदेशी लगानीमा असर परेको बताएका हुन् ।
कर्पोरेटसम्बन्धी ऐन तथा नियमहरू अस्पष्ट रहेको पनि वक्ताहरूको भनाइ छ । कर्पोरेट करका जानकार अधिवक्ता कपिल ढकालले ११ देशसँग दोहोरो कर छुट सम्झौता भएको भए पनि यसको कार्यान्वयनमा दुविधा रहेको बताए । कम्पनीसँगको मिलेमतोमा सरकारी कार्यालयहरूले आफूअनुकूल व्याख्या गर्न नहुने बताउँदै उनले यससम्बन्धी नीति संसद्बाट पारित गरी उचित मार्गदर्शन दिनुपर्ने बताए । करसम्बन्धी मुद्दाको रिपोर्टिङ गर्दा पत्रकारहरू गम्भीर हुनुपर्ने पनि उनको भनाइ छ । अदालतले गरेका आदेश, फैसला तथा निर्णयहरू स्पष्ट रूपमा बुझेर मात्रै समाचार बनाउनुपर्ने उनको सुझाव छ ।
त्यस्तै, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले दोहोरो करसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा विदेशी लगानी आउन नसकेको बताए । विदेशी लगानी आकर्षित गर्न पनि दोहोरो कर छुटको व्यवस्थालाई स्पष्ट बनाउनुपर्ने उनको माग छ ।
नेपालमा लाग्नेभन्दा बढी कर तिर्दा फिर्ता नहुने समस्या रहेको उल्लेख गर्दै उनले यसलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए । विदेशमा लाग्नेभन्दा बढी कर तिर्दा प्रणालीबाटै फिर्ता हुने व्यवस्था रहेको उदाहरण दिँदै ज्ञवालीले नेपालमा पनि यस्तो प्रणाली आवश्यक रहेको औँल्याए ।
त्यस्तै, नाफिजकी अध्यक्ष मेनुका कार्कीले करसम्बन्धी विषयहरू जटिल हुने भएकाले त्यसलाई सरलीकृत गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न नाफिजले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।