रामेछाप : रामेछाप जिल्लाको सुनापति गाउँपालिका-४, बेथान, भौगोलिक रूपमा विकट, वरिपरि भिराला डाँडाकाँडा र जेनतेन पुगेको धुलाम्मे कच्ची सडक । बाहिरबाट हेर्दा यो एउटा सामान्य दुर्गम गाउँ लाग्छ ।
ढुङ्गा र माटोले बनेका पुराना घरहरू अनि बिहानैदेखि घाँस-दाउरामा व्यस्त हुने ग्रामीण जीवन यहाँको परिचय हो । तर, यही सामान्य गाउँको एउटा कुनामा यस्तो चमत्कार भइरहेको छ, जसले अहिले सिङ्गो देशको ध्यान तानेको छ ।
त्यहाँ रहेको श्री डहु माध्यमिक विद्यालयले पछिल्ला केही वर्षयता हासिल गरेको सफलताले एउटा नयाँ भाष्य स्थापित गरिदिएको छ शिक्षामा गुणस्तर सुनिश्चित गर्न सहरका महँगा भवन र चिल्ला सडक होइन, दृढ इच्छाशक्ति र समर्पण आवश्यक हुन्छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा सार्वजनिक हुँदा धेरैलाई विश्वास गर्न गाह्रो भयो ।
राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्कअनुसार डहु माविका ६६ जना विद्यार्थीमध्ये ११ जनाले ४ ’जीपीए’ प्राप्त गरे । यो कुनै एउटा निजी विद्यालयको सफलता होइन, बरु राज्यको लगानी रहेको एउटा दुर्गमको सामुदायिक विद्यालयको गौरवमय उपलब्धि हो । यो नतिजा केवल अङ्कको खेल मात्र होइन, यसले नेपाली सार्वजनिक शिक्षाको क्षेत्रमा एउटा बलियो सन्देश दिएको छ, ’सफलता सहरको विशेषाधिकार होइन, मेहनत र अनुशासनको प्रतिफल हो ।’
डहु माविको यो यात्रा कुनै संयोग वा रातारात भएको परिवर्तन होइन । एक दशक अघिसम्म यो विद्यालय पनि अन्य सरकारी विद्यालयजस्तै थियो कमजोर भौतिक पूर्वाधार, विद्यार्थीको न्यून उपस्थिति र अभिभावकको घट्दो विश्वास ।
गाउँका धनीमानीहरू आफ्ना छोराछोरीलाई ’राम्रो पढाइ’ का लागि सहर पठाउँथे । सरकारी विद्यालयमा पढाउनु भनेको भविष्य अन्योलमा पार्नु हो भन्ने बुझाइ व्याप्त थियो । तर, यही निराशाको बीचबाट विद्यालयका प्रधानाध्यापक दलबहादुर बल र सहायक प्रधानाध्यापक हिरालाल मोक्तानले एउटा कठिन बाटो रोज्ने निर्णय गरे-डहु माविलाई देशकै नमुना बनाउने बाटो ।
परिवर्तनको सुरुवात शिक्षकहरूको कार्यशैली र सोचबाट भयो । विद्यालयमा पढाउने समयलाई १० देखि ४ बजेको घेराभन्दा बाहिर निकालियो । यहाँ बिहान ६ः३० बजेदेखि नै कक्षा सुरु हुन्छन् र साँझ ६ बजेसम्म नियमित पढाइ हुन्छ । शिक्षकहरू केवल तलब थाप्ने कर्मचारीका रूपमा होइन, विद्यार्थीको भविष्य बदल्ने अभियन्ताका रूपमा प्रस्तुत भए ।
प्रधानाध्यापक दलबहादुर बलले त आफ्नो व्यक्तिगत जीवनलाई नै विद्यालयको नाममा समर्पण गरिदिएका छन् । गाउँमै घर भए पनि उनी महिनाको एक–दुई पटक मात्र घर पुग्छन, उनको बाँकी सबै समय विद्यालयको उन्नति र विद्यार्थीको प्रगतिमा खर्चिन्छ । यो त्याग र तपस्या नै आजको सफलताको जग हो ।
विद्यालयको भौतिक अवस्थामा पनि कायापलट गरिएको छ । पुराना र जीर्ण भवनको ठाउँमा नयाँ संरचनाहरू ठडिएका छन् । विद्यालय परिसरलाई एउटा सुन्दर बगैँचाका रूपमा विकास गरिएको छ, जहाँ फूलहरू मुस्कुराउँछन् र विद्यार्थीहरू रमाउँछन् ।
यहाँ नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुन्छ । तर, यो विद्यालयको सबैभन्दा सुन्दर पक्ष यसको सेवामुखी भावना हो । स्थानीय विद्यार्थीका लागि यहाँको शिक्षा पूर्ण रूपमा निःशुल्क छ । पैसाको अभावमा कसैले पनि शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने सोचले गाउँका विपन्न परिवारका लागि यो विद्यालय वरदान सावित भएको छ ।
आज डहु माविको परिचय केवल रामेछापको एउटा गाउँमा सीमित छैन । कुनै समय गाउँका विद्यार्थी सहर जान्थे, तर आज समय बदलिएको छ । सहरका विद्यार्थी गाउँ आइरहेका छन् । हाल यस विद्यालयमा नेपालका ३० वटा जिल्लाका विद्यार्थीहरू अध्ययनरत छन् ।
काभ्रे, सिन्धुली, झापा, रौतहट, बझाङ र बैतडीदेखि आएका विद्यार्थीहरू बेथानको यो एकान्त गाउँमा बसेर आफ्नो भविष्य सुनौलो बनाउँदै छन् । विद्यालयमा अहिले ६ सयभन्दा बढी विद्यार्थी छन्, जसमध्ये ३६० जना आवासीय रूपमा छात्रावासमा बस्छन् । भर्नाका लागि यति धेरै चाप छ कि विद्यालयले प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी छनोट गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि विद्यालयले निःशुल्क बस्ने र खाने व्यवस्था समेत मिलाएको छ । यो एउटा सरकारी विद्यालयले देखाएको साहस र मानवीयताको उत्कृष्ट नमुना हो । शिक्षालाई व्यापार बनाउने प्रवृत्तिको विरुद्धमा डहु माविले सामाजिक जिम्मेवारीको एउटा नयाँ मानक खडा गरेको छ ।
यहाँ अनुशासनमा कुनै सम्झौता हुँदैन । शिक्षक, विद्यार्थी र अभिभावकबीचको निरन्तर संवाद र सहकार्यले विद्यालयको वातावरणलाई पारिवारिक र अध्ययनशील बनाएको छ । अतिरिक्त क्रियाकलाप, खेलकुद र व्यावहारिक सिकाइलाई पनि उत्तिकै महत्त्व दिइने हुनाले यहाँका विद्यार्थीहरू केवल किताबी ज्ञानमा मात्र सीमित छैनन् ।
अन्त्यमा, डहु माविको सफलताको कथाले नेपालको शिक्षा प्रणालीलाई नै एउटा प्रश्न र उत्तर दुवै दिएको छ । यदि नेतृत्व इमानदार भयो, शिक्षकहरू समर्पित भए र अभिभावकले साथ दिए भने सरकारी विद्यालयले पनि चमत्कार गर्न सक्छन् भन्ने यसले पुष्टि गरेको छ ।
सहरका महँगा विद्यालयमा मात्रै भविष्य सुरक्षित हुन्छ भन्ने भ्रमलाई डहु माविका ११ जना ४ जीपीए ल्याउने विद्यार्थीहरूले चिरेका छन् । यो केवल एउटा विद्यालयको सफलता होइन, यो ग्रामीण नेपालको सम्भावनाको कथा हो । कच्ची सडक, सामान्य भवन र सीमित साधनका बाबजुद पनि ठुलो सपना देख्न र त्यसलाई साकार पार्न सकिन्छ भन्ने प्रेरणाको उज्यालो टापु हो डहु माध्यमिक विद्यालय । आज यो विद्यालय सिङ्गो राष्ट्रका लागि गर्वको विषय बनेको छ ।
Advertisment