Below Menu
Below Menu

अन्नपूर्ण हेलिकप्टरको व्यापारमा गिरावट, जहाज थपिएपनि ऋणभारले बढेन आम्दानी 

अन्नपूर्ण हेलिकप्टरको व्यापारमा गिरावट, जहाज थपिएपनि ऋणभारले बढेन आम्दानी 

काठमाडौं : अन्नपूर्ण हेलिकप्टर प्रालिले सन् २०२५ मा ४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। उक्त रकम अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशत अर्थात् १० लाख रुपैयाँले कम हो। 

कम्पनीले सन् २०२४ मा ४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा ३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो।

पछिल्ला दुई वर्षमा कम्पनीले सेवा विस्तारलाई तीव्रता दिँदै लगातार नयाँ हेलिकोप्टर थपेको छ। पहिलो हेलिकोप्टरबाट सन् २०२२ देखि सेवा सुरु गरेको कम्पनीले दोस्रो हेलिकोप्टर मे २०२५ मा र तेस्रो हेलिकोप्टर अप्रिल २०२६ देखि सञ्चालनमा ल्याएको हो।

यद्यपि दोस्रो हेलिकोप्टर थपिए पनि त्यसको प्रत्यक्ष प्रभाव आम्दानी वृद्धिमा उल्लेखनीय रूपमा देखिएको छैन। कम्पनीको प्रतिवेदनअनुसार हेलिकोप्टर सञ्चालनसँगै बढेको निश्चित सञ्चालन शुल्क, मर्मतसम्भार खर्च तथा अन्य स्थिर लागतका कारण कम्पनीले निरन्तर घाटा व्यहोर्दै आएको छ।

नयाँ हेलिकोप्टर खरिदका लागि लिइएको ऋणले कम्पनीको पूँजी संरचनामा थप दबाब सिर्जना गरेको उल्लेख छ । सन् २०२५ को अन्त्यसम्म कम्पनीको समग्र गियरिङ अनुपात १.४२ गुणा पुगेको छ, जुन सन् २०२४ मा ०।३० गुणा मात्र थियो। 

सञ्चालन खर्च उच्च रहँदा कम्पनीको ब्याज भुक्तानी क्षमता समेत नकारात्मक अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी मर्मतसम्भार, सञ्चालन खर्च र स्थिर लागतको भार बढ्दै जाँदा कम्पनीले सन् २०२५ मा पनि नगद घाटा व्यहोरेको छ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले हाल आन्तरिक हवाई सेवा अन्तर्गत चार्टर फ्लाइट, रेस्क्यू फ्लाइट तथा तीर्थयात्रा उडान सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् । 

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि कम्पनीले ७० करोड ७२ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि ७० करोड २२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० लाख रुपैयाँको रेटिङ गराएको छ।

Advertisment

थप समाचार