Below Menu
Below Menu

जहाज किनेको ऋणले थलिँदै वायुसेवा निगम, तिर्न बाँकी दायित्व ५५ अर्ब नाघ्यो 

जहाज किनेको ऋणले थलिँदै वायुसेवा निगम, तिर्न बाँकी दायित्व ५५ अर्ब नाघ्यो 

काठमाडौं : नेपाल वायुसेवा निगमले वाइडबडी तथा न्यारोबडी विमान खरिदका लागि लिएको ऋणको दायित्व झन् बढ्दै गएको छ।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको कर्जाको साँवा–ब्याजसहित कुल दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

निगमले ए–३२० र ए–३३० विमान खरिदका लागि नेपाल सरकारको जमानीमा विभिन्न चरणमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट कुल रु ४१ अर्ब ऋण लिएको थियो। 

प्रतिवेदनअनुसार निगमले २०७० मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ तथा २०७४ मा नागरिक लगानी कोषबाट १९ अर्ब रुपैयाँ ऋण लिएको थियो। तर, निर्धारित भुक्तानी तालिकाअनुसार साँवा र ब्याज नियमित रूपमा तिर्न नसक्दा ऋण दायित्व उल्लेखनीय रूपमा बढेको हो।

हाल कर्मचारी सञ्चय कोषतर्फ निगमको दायित्व ३१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने नागरिक लगानी कोषतर्फ २१ अर्ब रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। ऋणको नियमित भुक्तानी हुन नसक्दा ब्याज थपिँदै गएको र यसले निगमको वित्तीय दायित्व थप जटिल बनाएको महालेखाले जनाएको छ।

महालेखापरीक्षकको प्रतिवेदनले निगमलाई भुक्तानी तालिका बमोजिम तत्काल ऋण चुक्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। लामो समयदेखि आर्थिक दबाब झेल्दै आएको निगमका लागि बढ्दो ऋणभार चुनौतीका रूपमा देखिएको छ।  

Advertisment

थप समाचार