Below Menu
Below Menu

हिमाल आरोहणले तंग्रिँदै पर्यटनः ११८१ आरोहीबाट एकै सिजनमा ८४ लाख डलर विदेशी मुद्रा आर्जन

हिमाल आरोहणले तंग्रिँदै पर्यटनः ११८१ आरोहीबाट एकै सिजनमा ८४ लाख डलर विदेशी मुद्रा आर्जन

काठमाडौं : यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण सिजन अत्यन्त व्यस्त र उत्साहजनक बनेको छ। पर्यटन विभागका अनुसार मे १५ सम्म विभिन्न ३० वटा हिमाल आरोहणका लागि एक हजार १८१ जना स्वदेशी तथा विदेशी आरोहीलाई अनुमति प्रदान गरिएको छ। 

आरोहण अनुमतिबाट सरकारले रोयल्टी तथा सम्बन्धित दस्तुरबापत ८४ लाख २९ हजार ६२६ अमेरिकी डलर अर्थात् एक अर्ब २५ करोड ८४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अनुमति लिने आरोहीमध्ये ८९८ जना पुरुष र २८३ जना महिला रहेका छन्। विश्वका ७९ देशका नागरिकले नेपालका हिमाल आरोहणका लागि अनुमति लिएका छन् । 

देशगत रूपमा चीनबाट सबैभन्दा धेरै १५६ जना आरोहीले अनुमति लिएका छन् भने अमेरिकाबाट १५०, भारतबाट ९७, बेलायतबाट ७४, जर्मनीबाट ७२ र रसियाबाट ७० जना आरोही सहभागी भएका छन्। नेपालबाट पनि ३९ जनाले आरोहण अनुमति प्राप्त गरेका छन्।

यस सिजनमा पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहीहरूको प्रमुख आकर्षण बनेको छ। सगरमाथा आरोहणका लागि मात्रै ५१ वटा टिममार्फत ४९४ जनाले अनुमति लिएका छन् ।  जसमा ३८९ पुरुष र १०५ महिला छन्। 

सगरमाथाबाट मात्रै ७२ लाख ७० हजार अमेरिकी डलरभन्दा बढी रोयल्टी संकलन भएको विभागले जनाएको छ । जुन कुल राजस्वको ठूलो हिस्सा हो।

सगरमाथापछि ल्होत्से र अमाडबलमा उल्लेख्य चाप देखिएको छ। ल्होत्से आरोहणका लागि १४३ जना तथा अमा दबलमका लागि १११ जनाले अनुमति लिएका छन्। त्यस्तै नुप्त्सेमा ५६, मनास्लु र हिमलुङ हिमालमा समान ४६–४६, धौलागिरि प्रथममा ३० तथा अन्नपूर्ण प्रथममा १३ जनाले आरोहण अनुमति लिएका छन्।

मकालु, कञ्चनजंघा, बरुण्त्से, पुमोरी, ग्याजीकाङ, चोयु र थोरुङ पिकलगायतका अन्य हिमालमा पनि उल्लेख्य संख्यामा आरोही पुगेका छन्।

पर्यटन विभागका अनुसार वसन्त ऋतु, विशेषगरी अप्रिलदेखि मेसम्मको अवधि हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल मानिन्छ। स्थिर मौसम, कम हावाहुरी र तुलनात्मक रूपमा सहज तापक्रमका कारण यही समयमा सबैभन्दा बढी आरोही नेपाल आउने गरेका छन्।

विभागले आरोहण व्यवस्थापन, सुरक्षा अनुगमन तथा फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विशेष तयारी गरिएको जनाएको छ। आरोहीहरूले हिमाल आरोहणका लागि तोकिएको स्थानीय एजेन्सी वा ट्रेनिङ प्राप्त गाइडमार्फत आवश्यक कागजात (स्वास्थ्य रिपोर्ट, बिमा, आदि) सहित आवेदन दिनुपर्छ। 

Advertisment

थप समाचार