Below Menu
Below Menu

पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया सुरु, आयल निगमले माग्यो स्वदेशी उत्पादकसँग आवेदन

पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया सुरु, आयल निगमले माग्यो स्वदेशी उत्पादकसँग आवेदन

काठमाडौं : सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८२ फागुन २८ गते नेपाल राजपत्रमा प्रकाशित ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ अनुसार अब नेपालमा पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने बाटो खुलेको हो।

यससँगै नेपाल आयल निगमले पेट्रोलमा मिसाउन योग्य इथानोल खरिद प्रक्रिया अघि बढाउँदै स्वदेशी उत्पादकहरूबाट आवेदन माग गरेको छ।

निगमले जारी गरेको सूचनाअनुसार राजपत्रमा तोकिएको गुणस्तर र मापदण्डअनुसार उत्पादन गरिएको इथानोललाई खरिद गरिनेछ। विशेषगरी स्वदेशमै उत्पादन हुने इथानोललाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।

यसका लागि इच्छुक स्वदेशी उद्योग तथा उत्पादकहरूले उत्पादन र आपूर्तिका लागि निगममा निवेदन दर्ता गर्न सक्नेछन्। निगमले यससम्बन्धी विस्तृत जानकारी आफ्नो आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराएको जनाएको छ।

सरकारले इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चा पदार्थसमेत स्पष्ट रूपमा निर्धारण गरेको छ। चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको ढोड, गहुँको छ्वालीजस्ता कृषि अवशेष, खाद्यान्नका रूपमा प्रयोग गर्न नमिल्ने सडेगलेका अन्न तथा सिमल तरुल (कास्साभा) इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिनेछ। साथै, उत्पादन प्रक्रियामा आवश्यक पर्ने यीस्ट (मर्चा) तथा अन्य आवश्यक रसायनको प्रयोग गर्न पनि अनुमति दिइएको छ।

यद्यपि सरकारले सर्वसाधारणले खाद्यान्नका रूपमा प्रयोग गर्ने राम्रो गुणस्तरका अन्नलाई इथानोल उत्पादनका लागि प्रयोग गर्न भने स्पष्ट रूपमा रोक लगाएको छ। 


 

Advertisment