काठमाडौं : कालंगा हाइड्रो लिमिटेड ले आज जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेको थियो । अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरिएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
जसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो । सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ ।
अब सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २२ गतेसम्म लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
Advertisment