Below Menu
Below Menu

साढे १९ खर्बको व्यापारमा १४ खर्ब ४३ अर्ब घाटा, आयात र निर्यात दुवैमा वृद्धि

साढे १९ खर्बको व्यापारमा १४ खर्ब ४३ अर्ब घाटा, आयात र निर्यात दुवैमा वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा नेपालले साढे १४ खर्बको व्यापार घाटा व्यहोरको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा सवा १९ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले १४ खर्ब ४३ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । 

गत वर्षको तुलनामा व्यापार घाटा १४.९२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेको छ । बैशाख मसातसम्म नेपालले १९ खर्ब ४१ अर्ब ६० करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । दश महिनामा करिब १७ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साढे दुई खर्बको वस्तु तथा सेवा निर्यात भएको छ 

बैशाखसम्ममा आयात १४.८२ प्रतिशत र निर्यात १४.२५ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा दुई खर्ब ४८ अर्ब ९६ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष दुई खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको संकेत गरेको छ । यद्यपी निर्यातको उच्च वृद्धि दरले पनि व्यापार घाटा कम गर्न खासै योगदान पुर्याउन सकेको छैन । 

यस अवधिमा नेपालले १५७ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये ३२ देशसँगको व्यापार नाफामा छ भने १२५ देशसँगको व्यापार घाटामा रहेको छ । 
 

Advertisment

थप समाचार