एक महिनापछि पुनः प्रसारण लाइनमा जोडियो ९.९८ मेगावाटको अप्पर माई, नियमित उत्पादन सुरु

एक महिनापछि पुनः प्रसारण लाइनमा जोडियो ९.९८ मेगावाटको अप्पर माई, नियमित उत्पादन सुरु

काठमाडौं : करिब एक महिना बन्द रहेको पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ।

Sponsored Advertisement

टनेल आउटलेटस्थित मेल होल आकस्मिक रूपमा फुटेपछि बन्द भएको ९.९८ मेगावाट क्षमताको आयोजनाले मर्मत तथा परीक्षण कार्य सम्पन्न गर्दै पुनः विद्युत उत्पादन सुरु गरेको हो।

कम्पनीका अनुसार इलाममा रहेको उक्त आयोजनाको टनेल आउटलेटमा बैशाख ७ गते दिउँसो करिब ३ बजे अचानक समस्या देखिएको थियो। मेल होल फुटेपछि आयोजनाबाट विद्युत उत्पादन तत्काल रोक्नुपरेको थियो भने प्राविधिक टोलीले क्षतिको मूल्यांकनसँगै मर्मत कार्य अघि बढाएको थियो।

लगातारको मर्मत, प्राविधिक परीक्षण र संरचनागत सुधारपछि आयोजना जेठ ७ गते बिहान १० बजेदेखि पुनः राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ। कार्यकारी निर्देशक प्रकाश विष्टका अनुसार आयोजनाबाट अहिले नियमित रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ।

उत्पादन बन्द हुँदा कम्पनीको विद्युत बिक्री प्रभावित भएको थियो। तर, समयमै मर्मत सम्पन्न गरी आयोजना पुनः सञ्चालनमा ल्याइएकाले अब उत्पादन र आपूर्तिमा सहजता आउने कम्पनीको विश्वास छ।

थप समाचार