काठमाडौं : नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन आह्वान गरेको छ। समितिले सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् जेठ १९ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार काठमाडौंस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरणसहित आवेदन पेश गर्नुपर्नेछ।
समितिले बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम योग्यता निर्धारण गरेको छ। जसअनुसार आवेदकले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमध्ये कुनै एकमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ।
त्यस्तै, आवेदक उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ भने बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (३) बमोजिम अयोग्य ठहर नभएको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ। साथै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ अनुसार न्यूनतम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
सूचनाअनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसूर तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति आवेदनका लागि अयोग्य हुनेछन्।
त्यसैगरी, प्रचलित कानूनअनुसार कालोसूचीमा परेको व्यक्ति फुकुवा भएको तीन वर्ष पूरा नभएसम्म योग्य मानिने छैन। कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गरेको, सार्वजनिक निकायसँग ठेक्का–पट्टा सम्झौता गरी कार्यरत रहेको तथा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति पनि अध्यक्ष पदका लागि अयोग्य ठहरिने सूचनामा उल्लेख छ।
Advertisment