Below Menu
Below Menu

राष्ट्रिय ग्रीडमा चार हजार मेगावाट विद्युत जडान, उत्पादन क्षमता ४६ सय मेगावाट पुग्ने अनुमान

राष्ट्रिय ग्रीडमा चार हजार मेगावाट विद्युत जडान, उत्पादन क्षमता ४६ सय मेगावाट पुग्ने अनुमान

काठमाडौं : चालु आर्थिक वर्षको फागुन मसान्तसम्म करिब चार हजार मेगावट विद्युत राष्ट्रिय ग्रीडमा जडान भएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा ३ हजार ९९७ मेगावट विद्युत ग्रीडमा जडान भएको हो । 

सर्वेक्षण अनुसार नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित विद्युत परियोजनाबाट ६६१.५७ मेगावाट विद्युत प्राधिकरणको सहायक कम्पनी मार्फत् ७४८.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट २ हजार ५८७ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जडान भएको हो ।

पछिल्लो समय नेपालले जलविद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणाली, ग्रामीण विद्युतीकरण लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएको छ । आन्तरिक विद्युत खपत वृद्धि गर्दै औद्योगिक उत्पादन यातायात तथा घरेलु क्षेत्रमा स्वच्छ ऊर्जाको उपयोग विस्तार गर्ने नीति कार्यान्वयनमा रहेको छ ।

२०८२ फागुनसम्म कुल जडित विद्युत क्षमता ४ हजार १०५ मेगावाट रहेको छ ।जसमध्ये जलविद्युत जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट सौर्य ऊर्जा १४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा उत्पादित विद्युत १०६.२४ मेगावाट, तापीय (थर्मल प्लान्ट) ऊर्जा ५३.४ मेगावाट र चिनी मिलबाट सह(उत्पादन प्रविधिमार्फत् उत्पादित विद्युत ६.० मेगावाट उत्पादन भएको छ ।

यस अवधिमा वैकल्पिक ऊर्जा सहित ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ । सामुदायिक उपभोक्ता समेत विद्युत उपयोग गर्ने ग्राहकको सङ्ख्या गत असारसम्म ५७ लाख ८ हजार रहेकोमा फागुनसम्म ५८ लाख ५९ हजार पुगेको छ ।

त्यसैगरी राष्ट्रिय प्रसारण लाइन ९६६ के.भी र सो भन्दा माथिको लम्बाइ गत असारसम्म ७ हजार १ सय ६१ सर्किट किलोमिटर रहेकोमा फागुनसम्म ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगेको छ । 

यस अवधिमा फागुनसम्म प्रसारण लाइन (३३ के.भी) ८ हजार २ सय २५ सर्किट किलोमिटर पुगेको छ । गत असारसम्म वितरण लाइन (४००/२३० भोल्ट) १ लाख ५६ हजार ७ सय ९० सर्किट किलोमिटर रहेकोमा फागुनसम्म १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको छ ।

आर्थिक सर्वेक्षण अनुसार विद्युत उत्पादनमा वृद्धि भएसँगै विद्युत आयातमाथिको निर्भरता कम हुँदै गएको छ ।  फागुनसम्म भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा बराबरको विद्युत निर्यात भएको छ भने ५९० गिगावाट घण्टा विद्युत आयात भएको छ । 

गत आर्थिक वर्षमा भारततर्फ २ हजार ३ सय ३२ गिगावाट घण्टा विद्युत निर्यात र १ हजार ७ सय १२ गिगावाट घण्टा विद्युत आयात भएको थियो । विभिन्न आयोजनाको निर्माणबाट आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ६६६ मेगावाट विद्युत थप उत्पादन भई नेपालको विद्युत क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान छ ।

फागुनसम्म प्रसारणतर्फ ३ र वितरणतर्फ २ गरी ५ सब–स्टेशनको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् । त्यसैगरी १३२ के.भीका ५ प्रसारण लाइन ९१६३ सर्किट किलोमिटर तथा ४०० के.भीका १ प्रसारण लाइन ९९.५२ सर्किट किलोमिटर विस्तार भएका छन् । ग्रिड सवस्टेशनको क्षमता १३ हजार ७ सय ५४ मेगाभोल्ट एम्पियरबाट २१ हजार ६ सय ६० मेगाभोल्ट एम्पियर पुगेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रका जलविद्युत कम्पनीलाई थप २ हजार ४ सय मेगावाट जडित क्षमता बराबरको १५८ जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र दिईएको छ ।
यससँगै फागुनसम्म २२५ आयोजनाको १० हजार ६ सय २९ मेगावाट जडित क्षमता बराबरको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म विद्युत खपत १० हजार १९ गिगावाट घण्टा (चुहावट बाहेक) बराबर पुगेको छ । गत आर्थिक वर्ष यस्तो खपत १३ हजार ६ सय ५३ गिगावाट घण्टा बराबर रहेको थियो । 

यस अवधिमा कुल विद्युत खपतको गार्हस्थ, औद्योगिक, व्यापारिक र अन्य क्षेत्रमा विद्युत खपत क्रमशः ३०० प्रतिशत २५० प्रतिशत, ६.० प्रतिशत र १०.० प्रतिशत रहेको छ । यस अवधिमा २९.० प्रतिशत विद्युत निर्यात भएको छ । 

नवीकरणीय ऊर्जा

सर्वेक्षण अनुसार २०८१  फागुनसम्म नवीकरणीय ऊर्जा स्रोतबाट विद्युतको पहुँच पुगेको जनसङ्ख्या करिब ८.५ प्रतिशत रहेकोमा २०८२ फागुनसम्म यस्तो जनसङ्ख्या ८।६ प्रतिशत पुगेको छ। त्यसैगरी ३६ लाख घरधुरीले विभिन्न प्रयोजनमा नवीकरणीय ऊर्जाको प्रयोग गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४०.७१ मेगावाट रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप १४७ किलोवाट उत्पादन भएको छ । 

त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा सौर्य ऊर्जा प्रविधिबाट ६२.७ मेगावाट विद्युत उत्पादन भई विद्युतीकरण भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ११८ किलोवाट विद्युत उत्पादन भएको छ ।
गत वर्ष घरायसी बायोग्याँसतर्फ ४ हजार ३ सय ८६ प्लान्ट जडान भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ४ हजार ६ सय २७ प्लान्ट जडान भएको छ । 

त्यसैगरी सुधारिएको चुलो र विद्युतीय चुलो जडान तर्फ ४७ हजार ४ सय २० चुलो जडान भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म यस्तो सङ्ख्या ३८ हजार ६ सय रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय चुलोतर्फ २६ हजार २ सय ५६ विद्युतीय चुलो जडान भएको थियो ।

ऊर्जा खपतको स्रोत

विद्युतको उत्पादन बढेसँगै कुल ऊर्जा खपतमा परम्परागत स्रोत (विशेषगरी दाउरा) को हिस्सा क्रमशः घट्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी ८ हजार २४ टीओई बराबर ऊर्जा खपत भएको छ । 

गत आर्थिक वर्ष यस्तो खपत १२ हजार १९ टीओई बराबर ऊर्जा खपत भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म कुल खपत ऊर्जामध्ये दाउरा ४८.९ प्रतिशत पेट्रोलियम पदार्थ २१.८ प्रतिशत, विद्युत १२.१ प्रतिशत र अन्य १७.२ प्रतिशत रहेको छ ।
 

Advertisment

थप समाचार