Below Menu
Below Menu

भृकुटीमण्डपमा जेठ २२ देखि ‘फिन इलेक्ट्रो–टेक २०२६’ हुँदै, २५ हजार दर्शक भित्र्याउने लक्ष्य

भृकुटीमण्डपमा जेठ २२ देखि ‘फिन इलेक्ट्रो–टेक २०२६’ हुँदै, २५ हजार दर्शक भित्र्याउने लक्ष्य

काठमाडौं : नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीका रूपमा परिचित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण आगामी जेठ २२ देखि २५ गते (जुन ५–८, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ।

नेपाल विद्युतीय व्यवसायी महासंघले सोमबार पत्रकार सम्मेलनमार्फत ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित प्रदर्शनीबारे जानकारी दिँदै ऊर्जा, विद्युतीय सामग्री, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको हो।

महासंघका अनुसार विसं १९९६ देखि निरन्तर आयोजना हुँदै आएको फिन इलेक्ट्रो–टेकले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि तथा औद्योगिक विकासको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्तालाई एउटै मञ्चमा ल्याई ज्ञान, प्रविधि र व्यवसायिक अवसर आदान–प्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीको उद्घाटन जेठ २२ गते बिहान १० बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन समारोहमा सरकारी उच्च अधिकारी, ऊर्जा तथा पूर्वाधार क्षेत्रका नीति निर्माता, उद्योगी–व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्न प्रदर्शनी उपयोगी हुने विश्वास आयोजकको छ। हालै सार्वजनिक आर्थिक वर्ष २०८३÷८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई प्राथमिकता दिएकाले सरकारी नीतिलाई व्यवहारमा उतार्न आवश्यक प्रविधि, सामग्री र सेवाहरूको प्रदर्शनका लागि पनि यो प्रदर्शनी महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।

यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका प्रतिष्ठित कम्पनी तथा ब्रान्डहरूको सहभागिता रहनेछ। ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, ओरियन्ट इलेक्ट्रिक, चिन्ट, सी एन्ड एस इलेक्ट्रिकलगायत स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन तथा प्रविधि प्रदर्शन गर्नेछन्।

प्रदर्शनीमा ट्रान्सफर्मर, स्विचगियर, केबल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन, एलईडी प्रविधि, विद्युतीय सुरक्षा प्रणाली, सौर्य तथा नवीकरणीय ऊर्जा, ई–मोबिलिटी, चार्जिङ पूर्वाधार, सूचना प्रविधि तथा परीक्षण एवं मापन उपकरणहरू प्रदर्शन गरिनेछ।

आयोजकका अनुसार प्रदर्शनीले स्वदेशी उत्पादक, अन्तर्राष्ट्रिय ब्रान्ड, वितरक, डिलर, प्राविधिक तथा उपभोक्ताबीच व्यवसायिक सहकार्य, प्रविधि हस्तान्तरण तथा नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्‍याउनेछ। प्रदर्शक कम्पनीहरूका लागि ब्रान्ड प्रवर्द्धन, नयाँ उत्पादन सार्वजनिक, बजार विस्तार तथा सम्भावित ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसरसमेत रहनेछ। यस वर्ष प्रदर्शनीका सबै स्टल पूर्वनिर्धारित समयमै बुकिङ भइसकेका छन्।

प्रदर्शनी अवधिभर व्यवसायिक भेटघाट (बीटुबी मिटिङ), अन्तरक्रिया कार्यक्रम, उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्र सञ्चालन गरिनेछन्। उद्योगी–व्यवसायी, इन्जिनियर, प्राविधिक, आर्किटेक्ट, विद्यार्थी तथा अनुसन्धानकर्ताले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय अनुभवबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

आयोजकका अनुसार प्रदर्शनीमा करिब २५ हजार आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघमा आबद्ध जिल्ला तथा नगरस्तरीय संघमार्फत करिब पाँच हजारभन्दा बढी व्यवसायीलाई काठमाडौं ल्याउने व्यवस्था समेत गरिएको छ।

प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ। तर आगन्तुकले अनिवार्य रूपमा क्यूआर कोड वा डिजिटल लिंकमार्फत पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यस वर्षको प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ भने पावर बाइ स्पोन्सर ह्याभेल्स इन्डिया लिमिटेड रहेको छ। प्रदर्शनी व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गरिरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाहरूको सहयोग तथा सहभागिता रहने आयोजकले जनाएको छ।

Advertisment

थप समाचार