Below Menu
Below Menu

बारामा साढे ५१ करोड लगानीमा खाने तेल उद्योग आउँदै, दैनिक २०० टन उत्पादन क्षमता

बारामा साढे ५१ करोड लगानीमा खाने तेल उद्योग आउँदै, दैनिक २०० टन उत्पादन क्षमता

काठमाडौं : बाराको प्रसौनी क्षेत्रमा निजी क्षेत्रको साढे ५१ करोड लगानीमा नयाँ खाने तेल प्रशोधन उद्योग सञ्चालनमा आउने भएको छ । भाइटल प्रो आयल प्रालिले प्रतिदिन करिब २०० टन क्षमताको खानेतेल उत्पादन प्लान्ट परियोजना अघि बढाएको हो।

करिब ५१ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना ७५ः २५ को ऋण-इक्विटी संरचनामा अगाडि बढाइएको छ। कुल लगानीमध्ये ७५ प्रतिशत अर्थात् ३८ करोड ६० लाख रुपैयाँ बैंक ऋणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् १२ करोड ९० लाख रुपैयाँ स्वपुँजी रहनेछ। 

हालसम्म प्रवर्द्धक पक्षबाट करिब ३ करोड रुपैयाँ मात्र इक्विटी लगानी भएको छ भने बाँकी वित्तीय व्यवस्थापन र पूर्वाधार निर्माण कार्य अघि बढिरहेको कम्पनीले जनाएको छ।

रेटिङ एजेन्सीले कम्पनीलाई दीर्घकालीन बैंकिङ सुविधाका लागि ‘डबल बी माइनस’ र अल्पकालीन सुविधाका लागि ‘ए फोर’ रेटिङ प्रदान गरेको छ।  

कम्पनीले बैंकिङ सुविधाका लागि एकअर्ब १० करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड रुपैयाँ र अल्पकालिन कर्जाका लागि ७० करोड रुपैयाँ बराबरको रेटिङ गराएको हो । 

सेप्टेम्बर २८, २०२५ मा दर्ता भएको भाइटल प्रो आयल प्रालि खानेतेल प्रशोधन तथा उत्पादन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको निजी कम्पनी हो। कम्पनीले हाल बारा जिल्लाको प्रसौनी क्षेत्रमा आफ्नो प्लान्ट निर्माणलाई तीव्रता दिइरहेको छ। उद्योगको नेतृत्व धीरज कुमार गुप्ताले गरिरहेका छन् । 

नेपालमा खानेतेल दैनिक उपभोगको अत्यावश्यक वस्तु भएकाले यसको माग स्थिर र दीर्घकालीन रूपमा बढ्दो मानिन्छ। घरायसी प्रयोगदेखि होटल, रेस्टुरेन्ट तथा खाद्य उद्योगसम्म यसको प्रयोग अनिवार्य भएकाले बजार विस्तार निरन्तर रहने अनुमान गरिएको छ।

भन्सार विभागका तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा कच्चा सोयाबिन तेलको आयात उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०७९/८० मा करिब १३ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात रहेकोमा पछि यो बढेर १ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी पुगेको देखिन्छ। सन् २०२६ को पहिलो नौ महिनामै मात्र करिब ९१ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको तथ्यांकले देखाउँछ।

Advertisment

थप समाचार