काठमाडौं : एनएमबि बैंक लिमिटेडले नेपाल–भारतबीच सहज, सुरक्षित र तत्काल रकम आदानप्रदान गर्न सकिने ‘इन्डो–नेपाल पीटूपी (पर्सन–टु–पर्सन) रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवामार्फत अब भारतबाट नेपाल तथा नेपालबाट भारतमा व्यक्तिगत प्रयोजनका लागि रकम छिटो, सुरक्षित र झन्झटरहित रूपमा पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार नयाँ सेवासँगै ग्राहकहरूले परम्परागत रेमिट्यान्स प्रक्रियामा हुने ढिलाइबाट मुक्ति पाउनेछन्। भारतबाट रकम पठाएलगत्तै एनएमबि बैंकमा रहेको व्यक्तिगत खातामा रकम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
यस सेवाको अर्को विशेषता भनेको लामो बैंक खाता नम्बर आदानप्रदान गर्नुपर्ने झन्झट हट्नु हो। बैंकले ग्राहकलाई छुट्टै भर्चुअल ठेगाना ९भर्चुअल आइडी० उपलब्ध गराउनेछ, जसको प्रयोग गरेर सजिलै रकम पठाउन र प्राप्त गर्न सकिनेछ।
ग्राहकहरूले मोबाइल बैंकिङ एप, बैंकको वेबसाइट वा बैंक शाखामार्फत यो सेवा सक्रिय गरी प्रयोग गर्न सक्नेछन्। आवश्यकता अनुसार भारतबाट व्यक्तिगत तथा पारिवारिक प्रयोजनका लागि रकम प्राप्त गर्न यस सेवाले थप सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले ग्राहकको रकमको सुरक्षा सुनिश्चित गर्न आन्तरिक प्रणालीमार्फत निरन्तर निगरानी तथा सुरक्षा व्यवस्था गरिएको जनाएको छ।
हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
Advertisment