Below Menu
Below Menu

लघु, साना तथा मझौला व्यवसायीलाई राहत, डिजिटल कर्जाको सीमा १० लाख रुपैयाँ पुर्याइयो

लघु, साना तथा मझौला व्यवसायीलाई राहत, डिजिटल कर्जाको सीमा १० लाख रुपैयाँ पुर्याइयो

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघु, साना तथा मझौला व्यवसायी (एसएमई) का लागि विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा र समयावधी थप गरेको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट कर्जा प्रवाहसम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

संशोधित व्यवस्था अनुसार अब लघु, साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म डिजिटल कर्जा प्राप्त गर्न सक्ने भएका छन्। राष्ट्र बैंकका अनुसार अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जाका लागि अब अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ । उक्त कर्जाको भुक्तानी अवधि बढीमा १ वर्ष तोकिएको छ। 

यता दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाको सीमा भने १० लाख रुपैयाँसम्म पुर्याइएको छ। यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जा नीतिअनुसार निर्धारण गर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसअघि बैंक तथा वित्तीय संस्थामा तलबी, पेशागत वा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका व्यक्तिहरूका लागि अधिकतम ५ लाख रुपैयाँ र अन्य ग्राहकका लागि अधिकतम २ लाख रुपैयाँसम्म मात्र विद्युतीय कर्जा उपलब्ध हुने व्यवस्था थियो। तर नयाँ संशोधनपछि एसएमई क्षेत्रका लागि कर्जा सीमा बढाईएको हो । 

त्यस्तै, व्यक्तिगत ग्राहकका हकमा पनि विद्युतीय कर्जाको व्यवस्था यथावत् राखिएको छ। नियमित आम्दानी जम्मा हुने खाता भएका व्यक्तिहरूले अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् भने अन्य व्यक्तिका लागि अधिकतम २ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। यी कर्जाको भुक्तानी अवधि अधिकतम ३ वर्ष रहनेछ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहदेखि असुलीसम्मको प्रक्रियामा आवश्यकताअनुसार भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा प्रविधि सेवा प्रदायक टीएसपी संस्थाहरूसँग सहकार्य गर्न सक्नेछन्।

यसका साथै ग्राहकको सहमतिमा मात्र यस्तो विवरण प्रयोग गर्न पाइनेछ भने विवरणको गोपनीयता, आधिकारिकता र सुरक्षित प्रयोग सुनिश्चित गर्न सम्बन्धित संस्थासँग स्पष्ट सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।  

Advertisment

थप समाचार