काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को आगामी नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियामा उत्तम भ्लोन लामा समूहका ६ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार उपमहासचिव पदमा हिमसिला पावर कम्पनी लिमिटेडकी अध्यक्ष कविता पोखरेल निर्विरोध निर्वाचित भएकी छन्।
त्यसैगरी सचिव पदमा रिडी पावर कम्पनी लिमिटेड, साझा पावर कम्पनी लिमिटेड तथा भोजपुर शिवालय हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष कुबेरमणि नेपाल, ग्रीन हाइडेल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक विजय मोहन भट्टराई, ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशक सुमन जोशी, युनियन हाइड्रोपावर लिमिटेड तथा चेन्ज नेपालकी अध्यक्ष अभिज्ञा मल्ल र तुन्डी पावर कम्पनी प्रालिकी उपमहाप्रबन्धक ईशा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
सचिव पदका लागि प्रारम्भिक रूपमा सात जनाको उम्मेदवारी दर्ता भएको थियो। तर दाबी–विरोधमाथिको छानबिनपछि दुई उम्मेदवारको मनोनयन खारेज भएपछि बाँकी रहेका पाँचै जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। निर्विरोध निर्वाचित सबै उम्मेदवार उत्तम भ्लोन लामा समूहसँग आबद्ध छन्।
वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ। इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ।
उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी मैदानमा छन्। सात उम्मेदवारमध्ये पाँच जना निर्वाचित हुनेछन्।
महासचिव पदका लागि टेकनाथ (टी.एन.) आचार्य र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुने भएको छ भने कोषाध्यक्ष पदमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल आमनेसामने छन्।
खुला सदस्यतर्फ सात पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन्। महिलातर्फ तीन सदस्य चयन हुने व्यवस्था रहेकामा चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
खुला सदस्य पदका उम्मेदवारमा अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, डा. भूषण गुरागाईं, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल रहेका छन्।
महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला र सिर्जना खड्का चुनावी मैदानमा उत्रिएका छन्।
इप्पानको विधानअनुसार कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात खुला सदस्य तथा तीन महिला सदस्य रहने व्यवस्था छ।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार (जेठ २९ गते) आयोजना हुँदैछ।
Advertisment