काठमाडौं : नेपाल राष्ट्र बैंकमा बाहिरबाट एक जना विज्ञ डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने प्रस्ताव सांसदहरूले अघि सारेका छन्। केन्द्रीय बैंकमा हाल रहेका दुई डेपुटी गभर्नरसहित कुल संख्या तीन पुर्याउने व्यवस्था गर्न उनीहरूले ‘नेपाल राष्ट्र बैंक ऐन’ संशोधनको प्रस्ताव संसदमा दर्ता गराएका हुन्।
प्रतिनिधि सभामा दर्ता भएको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गर्दै डेपुटी गभर्नरको संख्या दुईबाट तीन बनाउन माग गरेका छन्।
रास्वपाका सांसद सुशील खड्का, नेकपाका सांसद रमेश मल्ल र राप्रपाकी सांसद खुश्बु ओलीले दर्ता गराएको संशोधन प्रस्तावमा थपिने तेस्रो डेपुटी गभर्नर राष्ट्र बैंक बाहिरबाट विज्ञ व्यक्तिलाई नियुक्त गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। संसद् सचिवालयका अनुसार राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि कुल १८ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
संशोधन प्रस्तावमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिलाई थप समावेशी बनाउने विषय पनि उठाइएको छ। हाल सात सदस्यीय रहेको सञ्चालक समितिलाई नौ सदस्यीय बनाउने र त्यसमध्ये कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
हालको व्यवस्थाअनुसार अधिकृत विशिष्ट श्रेणी अर्थात् कार्यकारी निर्देशकहरूमध्येबाट गभर्नरले रिक्त डेपुटी गभर्नर पदको दोब्बर संख्यामा नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान छ।
गत फागुनमा दुवै डेपुटी गभर्नर पद रिक्त भएको थियो। सरकारले एक जना डेपुटी गभर्नर नियुक्त गरिसकेको भए पनि अर्को पद अझै रिक्त रहेको छ।
Advertisment