Below Menu
Below Menu

आगामी बजेटका लागि सुझाव सङ्कलन गर्दै राष्ट्रिय सहकारी बैंकः ‘सदस्य भेटौँ, सदस्य सुनौँ’ कार्यक्रम सुरु

आगामी बजेटका लागि सुझाव सङ्कलन गर्दै राष्ट्रिय सहकारी बैंकः ‘सदस्य भेटौँ, सदस्य सुनौँ’ कार्यक्रम सुरु

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले सदस्य संस्थाहरूका गुनासा, सुझाव तथा आवश्यकताहरू प्रत्यक्ष रूपमा सङ्कलन गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको “सदस्य भेटौँ, सदस्य सुनौँ” कार्यक्रम बागमती प्रदेशअन्तर्गत जोरपाटी र चावहिल शाखाबाट सुरु गरेको छ ।

बैंकका वास्तविक मालिक सदस्यहरू नै भएकाले उनीहरूका अनुभव, सुझाव र अपेक्षालाई बैंकको नीति तथा कार्यक्रम निर्माणको आधार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए। कार्यक्रममा बैंकका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू स्वयं सदस्य संस्थाहरूको बीचमा पुगेर प्रत्यक्ष संवाद गर्ने व्यवस्था गरिएको छ । 

जोरपाटी शाखामा आयोजित कार्यक्रममा शाखाअन्तर्गत कारोबार गर्ने ३७ वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रमुख गरी ४५ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा शाखा प्रमुख आदर्श धमलाले शाखाको वर्तमान अवस्था, गत आर्थिक वर्षका गतिविधि तथा उपलब्धिबारे जानकारी गराएका थिए। त्यसपछि सहभागीहरूको परिचयात्मक कार्यक्रमसँगै खुला सुझाव सङ्कलन सत्र सञ्चालन गरिएको थियो ।

छलफलका क्रममा सहभागीहरूले उठाएका जिज्ञासा तथा बैंकसँग सम्बन्धित विभिन्न विषयमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले आवश्यक जानकारी तथा स्पष्टीकरण दिएका थिए। कार्यक्रमको सञ्चालन बैंकको बागमती प्रदेश प्रमुख रमा घिमिरेले गरेकी थिइन् । 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर उपप्रमुख शान्ति नेपाल, बागमती प्रदेश सहकारी सङ्घका पूर्व सञ्चालक गोविन्द काफ्ले तथा शङ्खरापुर नगरपालिकाका सहकारी शाखा प्रमुख थमुनारायण भण्डारीको विशेष उपस्थिति रहेको थियो । सो अवसरमा भण्डारीले आगामी वर्षहरूमा बैंक र नगरपालिकाबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रमको अध्यक्षता बैंकको बागमती प्रदेशका सञ्चालक परितोष पौडेलले गरेका थिए । समापन मन्तव्यका क्रममा उनले आगामी आर्थिक वर्षको बजेटमा सदस्य–लक्षित कार्यक्रम, परिष्कृत सेवा प्रवाह तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइने बताए । यस्ता कार्यक्रमले सदस्य संस्था तथा सदस्यहरूमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले कार्यक्रम समापन गरे । 

यसैगरी, चावहिल शाखामा आयोजित कार्यक्रममा शाखाअन्तर्गत कारोबार गर्ने २५ वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात बागमती प्रदेश प्रमुख रमा घिमिरेले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् भने शाखा प्रमुख सुनिल महर्जनले शाखाको वर्तमान अवस्था तथा उपलब्धिबारे प्रस्तुति दिएका थिए।

सहभागीहरूले राखेका जिज्ञासा तथा सुझावमाथि बागमती प्रदेश सञ्चालक परितोष पौडेलले सम्बोधन गरेका थिए । कार्यक्रमको समापन गर्दै बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सदस्यहरूको सुझावलाई आगामी बजेट तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्दै सदस्य–केन्द्रित कार्यक्रममार्फत सहकारी संस्था र तिनका सदस्यहरूको हितमा थप प्रभावकारी सेवा प्रवाह गरिने बताए । 

बैंकका अनुसार “सदस्य भेटौँ, सदस्य सुनौँ” कार्यक्रम सदस्यहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको भावना, आवश्यकता र अपेक्षाअनुसार सेवा तथा कार्यक्रम परिमार्जन गर्ने उद्देश्यले देशभर सञ्चालन गरिनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सदस्यहरूको सुझावलाई संस्थागत विकासको महत्वपूर्ण आधारका रूपमा ग्रहण गर्दै बैंकले सदस्य–केन्द्रित सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । 

Advertisment

थप समाचार