Below Menu

नेपालमा आइआइटी खोल्दा पहाडी र हिमाली इन्जिनियरिङलाई प्राथमिकता दिनुपर्छ : कमल रिजाल

नेपालमा आइआइटी खोल्दा पहाडी र हिमाली इन्जिनियरिङलाई प्राथमिकता दिनुपर्छ : कमल रिजाल

काठमाडौं : नेपालमा स्थापना हुने इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मा नेपालको भौगोलिक अवस्था र विकासका आवश्यकता अनुसारका इन्जिनियरिङ विषयलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन् ।

Sponsored Advertisement

उनीहरूले पहाडी तथा हिमाली इन्जिनियरिङ, सुरुङ प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक इन्जिनियरिङजस्ता विषयलाई पाठ्यक्रममा समेट्नुपर्ने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का पूर्ववरिष्ठ सल्लाहकार डा. ई. कमल रिजालले नेपालमा आइआइटी स्थापना गर्ने निर्णय स्वागतयोग्य भए पनि यसको पाठ्यक्रम निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । भारतीय आइआइटीको पाठ्यक्रम हुबहु लागू गर्नुभन्दा नेपालको भौगोलिक बनावट र विकासका चुनौतीलाई सम्बोधन गर्ने गरी नयाँ विषय समावेश गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालको भौगोलिक अवस्था सुहाउने इन्जिनियरिङ प्रविधि पढाउनुपर्छ । पहाडी र हिमाली क्षेत्रको विकासका लागि आवश्यक पर्ने इन्जिनियरिङ विषयलाई प्राथमिकता दिनुपर्छ,’ रिजालले भने ।

उनका अनुसार नेपालमा पहाडी तथा हिमाली भूभागको बाहुल्य रहेकाले हिल इन्जिनियरिङ र माउन्टेन इन्जिनियरिङलाई छुट्टै अध्ययन विधाका रूपमा विकास गर्न सकिन्छ । पहाडी सडक निर्माण, पहिरो नियन्त्रण, सुरुङ प्रविधि र जलविद्युत् आयोजनाका संरचना निर्माणमा आवश्यक पर्ने प्रविधि अध्ययन तथा अनुसन्धानलाई पाठ्यक्रममा समेट्नुपर्ने उनले बताए ।

नेपालमा भौगोलिक अवस्थाको पर्याप्त अध्ययन नगरी सडक निर्माण गर्ने प्रवृत्तिले पूर्वाधारमा जोखिम बढाएको उल्लेख गर्दै उनले भूगोलअनुसारको इन्जिनियरिङ ज्ञान आवश्यक रहेको बताए । विशेषगरी पहाडी क्षेत्रमा सडक निर्माण गर्दा भूगर्भीय अवस्था, पहिरोको जोखिम र वातावरणीय पक्षको अध्ययनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

‘हामीले पहाडमा सडक बनाउँदा त्यत्तिकै खनेर बनाउने गरेका छौं । त्यसका लागि उपयुक्त इन्जिनियरिङ अध्ययन र प्रविधि आवश्यक छ । पहाडमा सडक छोटो बनाउन र जलविद्युत् आयोजना निर्माण गर्न पनि सुरुङ प्रविधिको महत्त्व छ,’ उनले भने ।

रिजालले आइआइटीको पाठ्यक्रममा एआई र सामाजिक इन्जिनियरिङलाई पनि समेट्नुपर्ने बताए । पूर्वाधार निर्माणमा स्थानीय समुदायको आवश्यकता र सहभागितालाई महत्त्व दिने गरी सामाजिक इन्जिनियरिङको अध्ययन गराउनुपर्ने उनको भनाइ छ । विकास आयोजना निर्माण गर्दा प्राविधिक पक्षसँगै स्थानीय बासिन्दाको आवश्यकता, भूगोल र सामाजिक अवस्थालाई पनि समेट्न सके आयोजना दिगो हुने उनले बताए ।

उनका अनुसार नेपालमा स्थापना हुने आइआइटीले नेपाली विद्यार्थीलाई स्वदेशमै उपयोगी ज्ञान र सीप दिने वातावरण बनाउनुपर्छ । भारतीय आइआइटीबाट अध्ययन पूरा गरेका अधिकांश विद्यार्थी अमेरिका जाने गरेको उदाहरण दिँदै उनले आइआइटी स्थापनाले मात्रै दक्ष जनशक्तिको पलायन रोक्न नसक्ने बताए ।

‘मैले पनि आइआइटी दिल्लीबाट पीएचडी गरेको हुँ । भारतमा आइआइटी स्थापना गर्दा प्रविधि विकास र प्रतिभा पलायन रोक्ने उद्देश्य राखिएको भए पनि त्यहाँबाट उत्पादन भएका धेरै जनशक्ति विदेश गएका छन् । त्यसैले नेपालमा आइआइटी खोल्दैमा पलायन रोकिन्छ भन्ने हुँदैन,’ उनले भने ।

नेपालमै रोजगारी र अनुसन्धानको अवसर सिर्जना हुने गरी पाठ्यक्रम तयार गर्न सके मात्रै संस्थाले अपेक्षित परिणाम दिन सक्ने उनको भनाइ छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा निर्माण हुने सडक, सुरुङ र जलविद्युत् आयोजनासँग सम्बन्धित विशिष्ट ज्ञान हासिल गरेका जनशक्तिको स्वदेशमै माग हुने भएकाले त्यस्ता विषयको अध्ययनले जनशक्ति पलायन न्यूनीकरणमा सहयोग पुग्न सक्ने उनले बताए ।

रिजालले आइआइटीमा अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै अनिवार्य व्यावहारिक अनुभव दिलाउनुपर्नेमा पनि जोड दिए । इन्जिनियरिङको अन्तिम वर्षमा कम्तीमा तीन महिनाको इन्टर्नसिप अनिवार्य गरी सरकारी निकाय र विकास आयोजनासँग विद्यार्थीलाई जोड्नुपर्ने उनको सुझाव छ ।

सडक विभाग, खानेपानी विभाग, विद्युत्सम्बन्धी सरकारी निकाय तथा अन्य प्राविधिक संस्थासँग सहकार्य गरेर विद्यार्थीलाई वास्तविक परियोजनामा सहभागी गराउन सकिने उनले बताए । यसबाट विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै सरकारी निकायले पनि प्राविधिक जनशक्तिको ज्ञान उपयोग गर्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार यस्तो अभ्यासले इन्जिनियरिङ शिक्षालाई रोजगार र विकास निर्माणसँग प्रत्यक्ष जोड्नेछ । विद्यार्थीलाई परियोजनामा सहभागी गराएर स्थानीय समस्या पहिचान तथा समाधान गर्ने अभ्यास गराउन सके उनीहरूको व्यावसायिक क्षमता पनि बढ्ने उनले बताए ।

आइआइटीको सञ्चालनका लागि राजनीतिक तथा प्रशासनिक हस्तक्षेपबाट मुक्त स्वायत्त संरचना बनाउनुपर्ने रिजालको सुझाव छ । नेपाली र भारतीय प्रतिनिधि सम्मिलित स्वतन्त्र सञ्चालक समिति गठन गरी संस्थाको शैक्षिक तथा प्रशासनिक व्यवस्थापन त्यसैमार्फत सञ्चालन गर्नुपर्ने उनले बताए । संस्थाको रेक्टर वा उपकुलपतिजस्ता नेतृत्व चयन र शैक्षिक निर्णयमा पनि स्वायत्तता हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, आइआइटीसँगको सहकार्यलाई भारतमा मात्रै सीमित नगरी अमेरिका, बेलायत र जर्मनीका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग पनि विस्तार गर्नुपर्ने उनले बताए । भारतका आइआइटी आसाम तथा पहाडी क्षेत्रको विकासमा विशेषज्ञता हासिल गरेका अन्य प्राविधिक संस्थासँग सहकार्य गर्दा नेपालको पाठ्यक्रम निर्माण र अनुसन्धानमा सहयोग पुग्ने उनको धारणा छ ।

उनले नेपालको आवश्यकताअनुसारका विषय र अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपयोगी पाठ्यक्रमबीच सन्तुलन कायम गर्नुपर्ने बताए । इन्जिनियरिङका आधारभूत विषय सबै विद्यार्थीका लागि समान राखेर ऐच्छिक विषय भने नेपालको आवश्यकता र विदेशी विद्यार्थीको पृष्ठभूमिअनुसार तयार गर्न सकिने उनको सुझाव छ ।

‘हाम्रो आवश्यकताअनुसार मात्रै पाठ्यक्रम बनाउँदा विदेशी विद्यार्थीका लागि उपयोगी नहुन सक्छ । त्यसैले आधारभूत विषय समान राखेर ऐच्छिक विषयमा नेपाल र अन्य देशका आवश्यकतालाई सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

नेपालमा आइआइटी स्थापनाले स्वदेशका अन्य इन्जिनियरिङ शिक्षण संस्थालाई पनि गुणस्तर सुधार गर्न प्रतिस्पर्धात्मक दबाब सिर्जना गर्ने उनको अपेक्षा छ । तर, त्यसका लागि पाठ्यक्रम निर्माणदेखि सञ्चालनसम्म नेपाली इन्जिनियर तथा विज्ञको क्षमता उपयोग गर्नुपर्ने उनले बताए ।

थप समाचार