काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई बोर्ड अध्यक्षका नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
वि.सं. २०२५ जेठ ९ गते (२२ मे १९६८) कैलाली जन्मिएका डा. भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनले ‘नेपालमा शेयर बजारको कार्यकुशलता’ विषयमा पीएचडी गरेका हुन् । यसका साथै उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र बीबीए अध्ययन पनि पूरा गरेका छन् ।
उनले नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गर्दै कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदा उनले अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, काठमाडौं बैंकिङ कार्यालय तथा जनकपुर क्षेत्रीय कार्यालय लगायतका महत्वपूर्ण विभागहरूको नेतृत्व गरेका छन् ।
अनुसन्धान विभागको नेतृत्व गर्दै मौद्रिक नीति निर्माण, उपभोक्ता मूल्य सूचकांक विकास, आर्थिक पूर्वानुमान तथा अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान दिएका थिए । साथै सार्वजनिक ऋण व्यवस्थापन, तरलता व्यवस्थापन तथा वित्तीय प्रणाली सुधारका क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
।
उनले विशेषगरी एशियाली विकास बैंकद्वारा सञ्चालित पूँजी बजार तथा पूर्वाधार विकास परियोजना, वित्तीय क्षेत्र सुधार कार्यक्रम, सार्वजनिक ऋण रणनीति निर्माण तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका परामर्शदाताको रूपमा कार्य गरेका छन् ।
साथै डा. भट्टले शैक्षिक क्षेत्रमा पनि २५ वर्षभन्दा बढी समय योगदान दिएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल कमर्स क्याम्पस, एपेक्स कलेज, प्रेसिडेन्सियल बिजनेस स्कूल, द ब्रिटिस कलेज, एसीई इन्टिच्युट अफ म्यानेजमेन्ट तथा किङ्स कलेज लगायतका प्रतिष्ठित संस्थाहरूमा अध्यापन गरेका छन् ।
हाल उनी नेपाल एसबीआई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालल का रूपमा कार्यरत छन् । यसअघि उनी सनिमा क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालकको जिम्मेवारीमा पनि रहेका थिए ।
बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको बोर्ड नेतृत्वमा भट्ट नियुक्त भएका हुन् । श्रेष्ठ २०८१ मंसिर १० गते ४ वर्षे कार्यकालका लागि बोर्ड अध्यक्ष बनेका थिए । बोर्डमा भट्टको कार्यकाल २०८५ मंसिर ९ गतेसम्म रहनेछ ।
Advertisment