काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्शेर जंगबहादुर राणासहित संस्थापक सदस्यहरूको ऊर्जा क्षेत्रको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
बैठकले इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निवर्तमान अध्यक्षसहितका पदाधिकारी, कार्यसमिति सदस्य, साधारणसभामा सहभागी सदस्यहरू, निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा अन्य अधिकृतहरू, इप्पान सचिवालयका कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।
नयाँ कार्यसमितिको पहिलो बैठकमा अध्यक्ष मोहनकुमार डाँगीसहित पदाधिकारी र सदस्यहरूबीच परिचयात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो व्यावसायिक अनुभव, ऊर्जा क्षेत्रमा रहेको संलग्नता तथा भावी कार्ययोजनाबारे जानकारी आदानप्रदान गरेका थिए।
बैठकले निवर्तमान अध्यक्ष गणेश कार्कीलाई इप्पानको प्रमुख सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको छ। त्यस्तै, संस्थाका पूर्व उपाध्यक्ष रामप्रसाद आचार्यलाई एसोसिएट सदस्यका रूपमा मनोनयन गरिएको जानकारी इप्पानले दिएको छ।
ऊर्जा उत्पादन क्षेत्रमा सक्रिय निजी क्षेत्रका उद्यमी तथा व्यवसायीहरूको साझा छाता संगठनका रूपमा रहेको इप्पानको मुख्य उद्देश्य ऊर्जा उद्यमीहरूले भोगिरहेका समस्या तथा चुनौतीहरूको पहिचान गरी त्यसको समाधानका लागि नीति निर्माता, प्रशासनिक निकाय तथा नियामक संस्थासँग समन्वय र पहल गर्नु रहेको छ। करिब २६ वर्षअघि स्थापना भएको संस्थामा हाल देशभरका ७ सयभन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरू आबद्ध छन्।
गत जेठ २९ गते सम्पन्न इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। त्यसपछि जेठ ३१ गते शपथग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।
नयाँ नेतृत्व चयनपछिको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरूलाई थप एकताबद्ध बनाउँदै ऊर्जा क्षेत्रका साझा मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइने बताएका छन्।
उनले ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत, प्रशासनिक तथा प्राविधिक विषयमा अध्ययन, अनुसन्धान र सुझाव प्रदान गर्न विषयगत समिति तथा विज्ञ–विशेषज्ञहरूको समूह गठन गरी संस्थालाई थप सक्रिय र परिणाममुखी बनाइने जानकारी दिए।
अध्यक्ष डाँगीले नेपालमा ऊर्जा क्षेत्रको दिगो विकास, लगानीमैत्री वातावरण निर्माण, विद्युत् उत्पादन तथा प्रसारणका अवरोध समाधान र निजी क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउन नयाँ कार्यसमिति प्रतिबद्ध रहेको उल्लेख गरे। उनले कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई संस्थागत उद्देश्य प्राप्तिका लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
Advertisment