Below Menu
Below Menu

आरती स्ट्रिप्सले गर्यो साढे १८ अर्बको व्यापार, निर्यात बढ्दा २७ प्रतिशतले बढ्यो कारोबार 

आरती स्ट्रिप्सले गर्यो साढे १८ अर्बको व्यापार, निर्यात बढ्दा २७ प्रतिशतले बढ्यो कारोबार 

काठमाडौं : पछिल्ला वर्षहरुमा बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको व्यापार निरन्तर रुपमा बढेको छ । कम्पनीले एक वर्षमा झण्डै साढे १८ अर्बको व्यापार गरेको छ । 

कम्पनीले सन् २०२५ मा १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा १४ अर्ब ५३ करोड ८० लाखको व्यापार गरेको थियो । 

यसअघि कम्पनीले सन् २०२३ मा १४ अर्ब १२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । विशेषगरी भारततर्फ निर्यात बढेपछि कारोबार बढेको कम्पनीले जनाएको छ । 

सन् २०२५ मा कम्पनीको उत्पादन तथा बिक्री उल्लेखनीय रूपमा बढेको थियो । कम्पनीले २०२४ मा एक लाख १४ हजार ९११ मेट्रिक टन उत्पादन बिक्री गरेकोमा  सन् २०२५ मा यो परिमाण बढेर एक लाख ६१ हजार ९०४ मेट्रिक टन पुगेको थियो ।

यद्यपी चालु आर्थिक वर्षको नौ महिनामा भने कम्पनीको कारोबारमा केही दबाब देखिएको छ । यस अवधिमा कम्पनीले ८ अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबरको स्टिलको कारोबार गरेको छ । 

खासगरी भारतीय बजारमा निर्यातका लागि आवश्यक बीआईएस प्रमाणपत्र नवीकरण प्रक्रियामा ढिलाई हुँदा वर्षको सुरुदेखि नै बिक्री प्रभावित भएको कम्पनीले जनाएको छ । 

तर, कम्पनीले हालसम्म नौमध्ये सातवटा प्रमाणपत्र नवीकरण गरिसकेको छ भने बाँकी दुईवटा पनि छिट्टै प्राप्त हुने अपेक्षा गरिएको छ । प्रमाणपत्र नवीकरणपछि चौथो त्रैमासिकदेखि निर्यात बिक्री पुनः बढ्न थालेको र आगामी आर्थिक वर्षमा कम्पनीको आम्दानी तथा कारोबारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

यद्यपि आम्दानी बढे पनि कम्पनीको नाफामा भने दबाब परेको छ । प्रति मेट्रिक टन नाफा सन् २०२४ को १५ हजार ३०८ रुपैयाँबाट घटेर सन् २०२५ मा १० हजार ९७४ रुपैयाँमा झरेको छ । कच्चा पदार्थको लागत वृद्धि र बिक्री मूल्यमा आएको दबाबका कारण सञ्चालन नाफा मार्जिन सन् २०२४ को १२.१० प्रतिशतबाट घटेर सन् २०२५ मा ९.६४ प्रतिशतमा झरेको छ । 

कम्पनीको ऋण दायित्व पनि बढ्दो क्रममा रहेको छ । सन् २०२५ मा कम्पनीको ऋण–इक्विटी अनुपात ०.६० गुणा रहेको छ भने कुल गियरिङ १.९४ गुणासम्म पुगेको छ । यद्यपी कम्पनीको ब्याज तिर्न सक्ने क्षमता २.१८ गुणामा स्थिर रहेको छ ।  

बढ्दो ऋणभार र निर्यातसम्बन्धी अनिश्चितताका बीच कम्पनीको बैंकिङ सुविधा सम्बन्धी क्रेडिट रेटिङलाई रेटिङ एजेन्सीले ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ । कम्पनीले हाल बैंकिङ कर्जा सुविधाका लागि १५ अर्ब ६७ करोड ४२ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । यसअघि यस्तो रेटिङ ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँको थियो । 

कम्पनीको दीर्घकालीन कर्जा ३ अर्ब ४३ करोड ४ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै अल्पकालीन कर्जा ८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँबाट बढेर ११ अर्ब ७० करोड ५० लाख रुपैयाँ पुगेको छ।

विराटनगरमा कारखाना रहेको आरती स्ट्रिप्सले नेपालमा जस्तापाता, कलर कोटेड सिट तथा एमएस पाइप उत्पादन गर्दै आएको छ । सन् २००१ मा स्थापना भएको कम्पनीको वार्षिक उत्पादन क्षमता हाल ४ लाख ७३ हजार मेट्रिक टन पुगेको छ ।

कम्पनीले ‘आर्टी स्पेक्ट्रा’, ‘आर्टी सुरक्षा’ र ‘आर्टी सिल्भर’ ब्रान्डमार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । देशभर करिब २०० डिलरमार्फत कम्पनीका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

यस्तै आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा टीएमटी बार आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा र ग्याल्भनाइजड सिट आरती सिल्भर ब्रान्डमा बिक्रीवितरण हुँदै आएको छ । कम्पनीका निर्देशक विशाल गुप्ता रहेका छन् । 
 
 

Advertisment

थप समाचार