सुस्त बजारमा नेप्से फेरि ओरालो, साढे १ अंकको गिरावट

सुस्त बजारमा नेप्से फेरि ओरालो, साढे १ अंकको गिरावट

काठमाडौं : पछिल्ला केही दिनयता उत्साहविहीन बनेको सेयर बजारले सोमबार पनि सुधारको संकेत दिन सकेन। अघिल्लो कारोबार दिन सामान्य अंकले उकालो लागेको बजार पुनः ओरालो लाग्दै नेप्से परिसूचक १.४६ अंकले घटेको हो।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये ११६ वटाको सेयर मूल्यमा वृद्धि हुँदा १४३ वटाको मूल्य घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो। यसले बजारमा बिक्री दबाब अझै कायम रहेको संकेत गरेको छ।

नेप्सेका अनुसार सोमबार ९० हजार ८६२ पटक भएको किनबेचमार्फत ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर कारोबार भएको छ। यस अवधिमा कुल ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। कारोबार रकममा पनि गिरावट देखिएको छ। अघिल्लो शुक्रबार ४ अर्ब ५३ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये तीन उपसमूह हरियालीमा रहे। फाइनान्स, लघुवित्त र व्यापार समूहका परिसूचकमा सामान्य वृद्धि देखियो। बाँकी १० उपसमूह भने घटेका छन्।

तथ्यांकअनुसार बैंकिङ उपसमूह ०.१० प्रतिशत, विकास बैंक ०.०७ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत, जलविद्युत् ०.२० प्रतिशत, लगानी ०.०२ प्रतिशत, जीवन बीमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत, सामूहिक लगानी कोष ०.५९ प्रतिशत, निर्जीवन बीमा ०.२१ प्रतिशत तथा अन्य उपसमूह ०.२० प्रतिशतले घटेका छन्।

थप समाचार