काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा नेपालले सवा १६ खर्बको व्यापार घाटा व्यहोरको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा साढे २१ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
गत वर्षको तुलनामा व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेको छ । जेठ मसातसम्म नेपालले २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । एघार महिनामा करिब १९ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साढे दुई खर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।
जेठसम्म आयात १५.१६ प्रतिशत र निर्यात १२.२८ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको संकेत गरेको छ । यद्यपी निर्यातको उच्च वृद्धि दरले पनि व्यापार घाटा कम गर्न खासै योगदान पुर्याउन सकेको छैन ।
यस अवधिमा नेपालले १५८ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये ३४ देशसँगको व्यापार नाफामा छ भने १२४ देशसँगको व्यापार घाटामा रहेको छ ।
Advertisment