Below Menu
Below Menu

राष्ट्रिय मनिचेञ्जरको लाइसेन्स खारेजी प्रक्रियामा, ३५ दिनभित्र दाबी-विरोध पेश गर्न राष्ट्र बैंकको आग्रह

राष्ट्रिय मनिचेञ्जरको लाइसेन्स खारेजी प्रक्रियामा, ३५ दिनभित्र दाबी-विरोध पेश गर्न राष्ट्र बैंकको आग्रह

धनगढी : नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारको इजाजतपत्र खारेजी प्रक्रियामा रहेको जनाएको छ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भीमदत्तनगर-४, महेन्द्रनगर, कञ्चनपुरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएको जानकारी दिएको हो। 

कम्पनीले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन अनुरोध गरेको राष्ट्र बैंकले जनाएको छ।

उक्त निवेदनका आधारमा कम्पनीको मनिचेञ्जर कारोबार बन्द गर्ने तथा इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ। यस क्रममा सम्बन्धित कम्पनीसँग कसैको लेनदेन, दाबी, भुक्तानी लिनु–दिनु बाँकी रहेको वा अन्य कुनै सरोकार भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।

राष्ट्र बैंकका अनुसार विनियमावलीको विनियम २२ को उपविनियम (२) मा इजाजतपत्र खारेजीअघि सम्बन्धित पक्षहरूलाई आफ्नो दाबी वा सरोकार प्रस्तुत गर्ने अवसर दिनुपर्ने व्यवस्था रहेको छ। सोही कानुनी प्रावधानअनुसार सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

निर्धारित अवधिभित्र कुनै दाबी, विरोध वा अन्य सरोकार प्राप्त नभएमा प्रचलित कानुनबमोजिम राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारको इजाजतपत्र खारेज गर्ने प्रक्रिया अगाडि बढाइने राष्ट्र बैंकले जनाएको छ।

Advertisment

थप समाचार