काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १७ लाख ३७ हजार २९८ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।
प्राधिकरणका अनुसार जेठमा मात्रै कम्पनीहरुले तीन लाख २५ हजार २१८ बीमालेख जारी गरी १७ अर्ब ३३ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।
जेठ मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १९ लाख ४१ हजार ७९६ बीमालेख बिक्री गरी ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख ३० हजार ९१ बीमालेख जारी गरी २२ अर्ब २१ करोड १६ लाख ७४ हजार रुपैयाँको व्यापार गरेको छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९८ हजार ९३६ बीमालेख जारी गरी १८ अर्ब ४८ करोड ३५ लाख ६१ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले १५ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ९८ हजार २६३ बीमालेख जारी गरी १० अर्ब ६२ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले छ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै एशियन लाइफले आठ अर्ब ७१ करोड ५१ लाख ११ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले छ अर्ब १७ करोड ५९ लाख रुपैयाँ र सन नेपाल लाइफले तीन अर्ब ८३ करोड ५८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
जेठ मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड ७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सले सात अर्ब ५९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
चालु आवको ११ महिनामा सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड ५० लाख, सानिमा रिलायन्सले छ अर्ब ६४ करोड ४२ लाख र प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड ३३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार एक अर्बमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । जेठ मसान्तसम्म कम्पनीहरुले २५ लाख ७ हजार ३४० बीमालेख जारी गरी एक अर्ब ६ करोड ४५ लाख ६१ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले ३८ करोड २१ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ३७ करोड ७८ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ३० करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २४ लाख १० हजार ८७१ बीमालेख जारी गरी तीन अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
Advertisment