काठमाडौं : नेपाल राष्ट्र बैंकले ठूलो बचत तथा ऋण कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति प्रक्रियामा सुविधा दिएको छ। केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सञ्चालन गर्न सकिनेछ। तर, यस्तो एकीकरणपछि बनेको संस्थाले सामान्यतः खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका रूपमा मात्र सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंककाअनुसार कुनै थोक कर्जा प्रदायक लघुवित्त संस्था मर्जर वा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालनमा आएपछि पनि पाँच वर्षसम्म थोक कर्जाको कारोबार गर्न पाउनेछ।
Advertisment