विराटनगर : सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा चरम लापरबाही हुने गरेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसँगको संयुक्त टोलीमार्फत सोमबार गरेको निरीक्षणमा मुसाले काटेको चामल पुनः प्याकेजिङ गरिरहेको अवस्थामा भेटिएको हो।
अनुगमनका क्रममा कम्पनीले बिक्रीका लागि राखेको २५ केजीका ३९ बोरा स्टिम जीरा मसिनो चामल मुसाले काटेको अवस्थामा फेला परेको थियो। ती बोराभित्रको चामल डल्ला परेको देखिएको र कामदारहरूले त्यही चामल नयाँ बोरामा सारेर पुनः प्याकेजिङ गरिरहेको अवस्थामा अनुगमन टोलीले फेला पारेको विभागले जनाएको छ।
निरीक्षणका क्रममा चामलमा साना–साना डल्ला (चिलेसा) परेको र ती डल्लाभित्र जैविक पदार्थसमेत देखिएको उल्लेख गरिएको छ। साथै, गोदामको सरसफाइ सन्तोषजनक नरहेको, मुसालगायतका जीवजन्तु नियन्त्रणका लागि आवश्यक व्यवस्था नगरेको तथा भण्डारण कक्षको तापक्रम अत्यधिक रहेको समेत पाइएको छ।
यसैगरी, कम्पनीले बिक्री–वितरण गरिरहेका चामलका बोरामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने ब्याच नम्बर र खुद्रा बिक्री मूल्यसमेत उल्लेख नगरी बजारमा पठाएको पाइएको छ। केही खाद्य सामग्रीमा आवश्यक लेबलसम्बन्धी विवरणसमेत पूरा नभएको अनुगमन टोलीले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उत्पादन २०८१ चैत १५ उल्लेख भएका तथा दुई वर्ष उपभोग्य अवधि तोकिएका २५ केजीका ३९ बोरा स्टिम जीरा मसिनो चामल अर्को आदेश नभएसम्म बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ। साथै, प्रयोगशाला परीक्षणका लागि चामलको नमुना संकलन गरिएको विभागले जनाएको छ।
विभागका अनुसार प्रयोगशाला परीक्षणको प्रतिवेदन प्राप्त भएपछि आवश्यक कानुनी कारबाही अघि बढाइनेछ। विभागले सबै खाद्य व्यवसायीलाई कानुनबमोजिम स्वच्छता तथा गुणस्तरका मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।
Advertisment