एजेन्सी : दक्षिण कोरियाले आगामी वर्षहरूमा देशको चिप उत्पादन र कृत्रिम बुद्धिमत्ता (एआई) क्षमताको विकासका लागि करिब १ ट्रिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
यो योजना देशको ‘थ्री मेगा प्रोजेक्ट्स’ अन्तर्गत ल्याइएको हो । जसमा नयाँ सेमिकन्डक्टर (चिप) उत्पादन केन्द्र, डाटा सेन्टर तथा रोबोटिक्स प्रविधिको विकास गरिनेछ।
राष्ट्रपति ली जे–म्युङले सोमबार सार्वजनिक गरेको योजनाअनुसार नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्रहरू, अत्याधुनिक एआई डाटा सेन्टर र रोबोटिक्स अनुसन्धान पूर्वाधार निर्माण गरिनेछ। विशेषगरी राजधानी सियोलमा केन्द्रित उद्योगहरूलाई देशका अन्य क्षेत्रमा विस्तार गरी क्षेत्रीय विकासलाई गति दिने सरकारको उद्देश्य रहेको उनले बताए।
दक्षिण कोरियाले अब कृत्रिम बुद्धिमत्ताको युगमा विश्वका अन्य प्रतिस्पर्धी राष्ट्रभन्दा अघि बढ्न सेमिकन्डक्टर, फिजिकल एआई र एआई डाटा सेन्टरमा तीव्र लगानी गर्नुपर्ने अवस्था आएको उनको भनाई छ। उनले यी तीन क्षेत्रलाई भविष्यको आर्थिक विकास र राष्ट्रिय प्रतिस्पर्धाको प्रमुख आधार रहेको बताए ।
यो योजना सार्वजनिक भइरहँदा ताइवान, चीन र जापानले पनि चिप उत्पादन तथा अत्याधुनिक प्रविधिमा अर्बौं डलर लगानी गरिरहेका छन्। विश्वभर कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा उच्च क्षमताका सेमिकन्डक्टर चिपहरूको माग पनि निरन्तर बढिरहेको छ। यसले विश्वव्यापी रूपमा चिप उद्योगमा लगानी र प्रतिस्पर्धा दुवैलाई तीव्र बनाएको छ।
दक्षिण कोरियाका अग्रणी चिप निर्माता सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले देशको दक्षिण–पश्चिमी क्षेत्रमा विशाल सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गर्ने अपेक्षा गरिएको छ। विश्वका प्रमुख एआई कम्पनीहरूमध्ये एक एनभिडिया लगायतका कम्पनीलाई चिप आपूर्ति गर्दै आएका यी कम्पनीहरू एआई प्रविधिको तीव्र विस्तारबाट सबैभन्दा बढी लाभ उठाइरहेका छन्।
सरकारले राजधानी सियोलबाहिर पनि एआई पूर्वाधार विस्तार गर्ने घोषणा गरेको छ। नयाँ डाटा सेन्टर, अनुसन्धान संस्था तथा प्रविधि उद्योग स्थापना गरेर राजधानी र ग्रामीण क्षेत्रबीचको आर्थिक असन्तुलन घटाउने लक्ष्य लिइएको छ।
राष्ट्रपति लीले उद्योग, रोजगारी र लगानी लामो समयदेखि सियोलमा मात्र केन्द्रित हुँदा अन्य क्षेत्रको विकास प्रभावित भएको उल्लेख गर्दै अब सन्तुलित विकास अपरिहार्य बनेको बताए।
उनका अनुसार यो योजना केवल नयाँ उद्योग स्थापना गर्ने कार्यक्रम मात्र नभई ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र राष्ट्रिय विकासलाई सन्तुलित बनाउने अभियान पनि हो। उनले देशभर समान विकासका अवसर सिर्जना गर्न नसके दिगो आर्थिक विकास सम्भव नहुने धारणा व्यक्त गरे।
विश्वभर एआई पूर्वाधार निर्माणमा लगानी तीव्र गतिमा बढिरहेको छ। अमेरिकी प्रविधि कम्पनी गुगल, अमेजन र मेटाले पनि यस वर्ष मात्रै करिब ६५० अर्ब अमेरिकी डलर एआई क्षेत्रमा लगानी गर्ने घोषणा गरिसकेका छन्। यही कारण उच्च क्षमताका चिपहरूको माग बढ्दै गएको छ भने सेमिकन्डक्टरको आपूर्तिमा समेत दबाब सिर्जना भएको छ।
चिपको मूल्य बढेपछि हालै एप्पल र माइक्रोसफ्टले आफ्ना केही उत्पादनको मूल्यसमेत वृद्धि गरेका छन्। यद्यपि एआई क्षेत्रमा भइरहेको ठूलो लगानीप्रति केही लगानीकर्ताले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार अत्यधिक खर्चका कारण केही प्रविधि कम्पनीहरूको शेयर मूल्यमा पछिल्ला दिनहरूमा उतारचढाव देखिन थालेको छ।
Advertisment