Below Menu
Below Menu

४१ ट्रिलियन डलरको ‘अनुभव अर्थतन्त्र’: सामान होइन, हैसियत र सम्झना बेच्दै लक्जरी कम्पनीहरू

४१ ट्रिलियन डलरको ‘अनुभव अर्थतन्त्र’:  सामान होइन, हैसियत र सम्झना बेच्दै लक्जरी कम्पनीहरू

एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वमा नयाँ पुस्ताका अर्बपतिहरूको संख्या बढ्दै गएको छ। उनीहरूको जीवनशैली र खर्च गर्ने तरिकामा आएको परिवर्तनसँगै विलासिताको अर्थ पनि फेरिएको छ। 

एक समय महँगा घडी, दुर्लभ चित्रकला वा हिराका गहनालाई विलासिताको प्रतीक मानिन्थ्यो। तर अहिलेका अति धनी वर्गका लागि यस्ता वस्तुहरूभन्दा दुर्लभ अनुभव, अविस्मरणीय सम्झना र समाजमा विशिष्ट पहिचान नै सबैभन्दा ठूलो विलासिता बनेको छ।

यसै बदलिँदो प्रवृत्तिलाई मध्यनजर गर्दै लक्जरी कम्पनीहरूले आफ्नो व्यापारिक रणनीति पनि परिवर्तन गर्न थालेका छन्। अब उनीहरू महँगा वस्तु बेच्नेभन्दा पनि ग्राहकलाई जीवनभर सम्झनलायक अनुभव बिक्री गर्न केन्द्रित भएका छन्। उनीहरूका अनुसार भविष्यको सबैभन्दा ठूलो व्यापार ‘अनुभव अर्थतन्त्र’ हुनेछ।

यही अवधारणाअन्तर्गत लक्जरी समूह LVMH र होटल कम्पनी Accor को संयुक्त उद्यम ओरियन्ट एक्सप्रेसले अर्बपतिहरूका लागि विशेष रूपमा डिजाइन गरिएका दुई अत्याधुनिक लक्जरी सुपरयाट सञ्चालनमा ल्याउने घोषणा गरेको छ। यी याटहरूले फ्रान्स र इटालीको भूमध्यसागरीय तटमा चार दिनसम्मको विशेष समुद्री यात्रा गराउनेछन्, जसको प्रारम्भिक शुल्क प्रतिव्यक्ति २५ हजार युरो निर्धारण गरिएको छ।

विश्लेषकहरूका अनुसार अहिलेको धनी वर्गको मुख्य उद्देश्य केवल सम्पत्ति प्रदर्शन गर्नु होइन, बरु अरूले सहजै प्राप्त गर्न नसक्ने अनुभव हासिल गर्नु हो। सात वटा आलिशान घर, दर्जनौं लक्जरी कार र महँगा घडीहरूको संग्रह भए पनि उनीहरू अझै आफ्नो ‘बकेट लिस्ट’ पूरा गर्न नयाँ र दुर्लभ अनुभवको खोजीमा हुन्छन्।

ब्अअयच का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेबास्टियन बाजिनका अनुसार अत्यधिक सम्पत्तिको तहमा पुगेपछि पैसाको मूल्यभन्दा पनि समाजमा छुट्टै पहिचान र प्रतिष्ठा कायम गर्नु महत्वपूर्ण हुन्छ। त्यसैले अहिलेका अर्बपतिहरूका लागि अनौठो अनुभव नै सबैभन्दा मूल्यवान सम्पत्ति बनेको छ।

यही कारणले लक्जरी कम्पनीहरूले आफ्ना सेवाहरूलाई विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूसँग जोड्न थालेका छन्। कान्स फिल्म फेस्टिभल, मोनाको ग्रान्ड प्रिक्स लगायतका प्रतिष्ठित कार्यक्रममा विशेष पहुँच उपलब्ध गराउनु अहिले लक्जरी सेवाको महत्वपूर्ण हिस्सा बनेको छ। यस्ता कार्यक्रममा प्राप्त हुने विशेष निमन्त्रणा र पहुँचलाई धनी वर्गले आफ्नो सामाजिक प्रतिष्ठा र प्रभावको प्रतीकका रूपमा लिने गरेका छन्।

अर्बपतिहरूका लागि तयार गरिएका विशेष अनुभवहरू अझै रोचक छन्। उदाहरणका लागि, सामान्य समयपछि बन्द हुने लुभ्र संग्रहालय वा भ्याटिकन संग्रहालय जस्ता विश्वप्रसिद्ध स्थलहरू रातिको समयमा निजी भ्रमणका लागि खोलिन्छन्। उनीहरूले कला तथा इतिहासका विशेषज्ञसँग व्यक्तिगत रूपमा संग्रहालय अवलोकन गर्न पाउँछन्।

यस्तै, युरोपका ऐतिहासिक दरबारहरूमा निजी रात्रिभोज आयोजना गरिन्छ, जहाँ राजपरिवारका सदस्य वा प्रतिष्ठित व्यक्तित्वहरूसँग विशेष भेटघाटको व्यवस्था मिलाइन्छ। क्यारिबियन क्षेत्रका सम्पूर्ण निजी टापु नै एक परिवारका लागि केही दिनका लागि आरक्षण गरिन्छ। त्यहाँ विश्वस्तरीय शेफ, सुरक्षा टोली, निजी डाइभर तथा अन्य कर्मचारीहरू केवल एउटै परिवारको सेवामा खटाइन्छन्। यस्तो एक साताको विलासी अनुभवको लागत करिब ३० करोड भारतीय रुपैयाँ सम्म पुग्न सक्ने बताइन्छ।

त्यसैगरी, निजी सुपरयाटमार्फत अन्टार्कटिका, अलास्का लगायतका दुर्गम क्षेत्रमा विशेष अभियान सञ्चालन गरिन्छ। यस्ता यात्रामा हेलिकप्टर, बरफ फोड्ने जहाज तथा वैज्ञानिकहरूको टोली समेत सहभागी हुन्छ, जसले यात्रुलाई पृथ्वीका दुर्लभ स्थानहरूको सुरक्षित र विशिष्ट अनुभव प्रदान गर्छ।

विश्वव्यापी रूपमा अनुभवमा आधारित अर्थतन्त्रको आकार अहिले करिब ४१ ट्रिलियन अमेरिकी डलर पुगेको अनुमान गरिएको छ। यस क्षेत्रमा कम्पनीहरूले केवल टिकट बिक्रीबाट मात्र होइन, खानपान, स्मरणिका, तस्बिर, पार्किङ र अन्य सेवामार्फत पनि ठूलो आम्दानी गर्ने गरेका छन्।

यसको उदाहरण बेलायतको LaplandUKहो। प्रत्येक डिसेम्बर सञ्चालन हुने यो क्रिसमस अनुभव कार्यक्रममा करिब १ लाख ६० हजार टिकट केही घण्टामै बिक्री हुने गर्छ। प्रतिव्यक्ति करिब १.३ लाख भारतीय रुपैयाँ पर्ने टिकटबाट मात्रै कम्पनीले एक सिजनमा करिब १८८ करोड भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको छ।

यस्ता कम्पनीहरूको सफलता केवल आकर्षक कार्यक्रम आयोजना गर्नुमा सीमित छैन। उनीहरूले सम्पूर्ण अनुभवलाई एउटा वास्तविक नाटकजस्तै बनाउँछन्, जहाँ कलाकारहरू निरन्तर आफ्नो भूमिकामा रहन्छन्, सजावट अत्यन्त यथार्थपरक हुन्छ र प्रत्येक विवरणलाई सावधानीपूर्वक व्यवस्थापन गरिन्छ। यसले ग्राहकलाई आफू वास्तवमै अर्को संसारमा पुगेको अनुभूति गराउँछ।

भविष्यको प्रतिस्पर्धा अब ठूला वा साना ब्रान्डबीच होइन, ग्राहकलाई आफ्नो वाचा पूरा गराउने कम्पनीहरूबीच हुनेछ। आजको लक्जरी उद्योगमा सफलता महँगा वस्तु बेच्नुमा होइन, ग्राहकलाई जीवनभर सम्झिने अनुभव, सामाजिक प्रतिष्ठा र अद्वितीय पहिचान प्रदान गर्नुमा निर्भर रहने देखिएको छ।

Advertisment

थप समाचार