Below Menu
Below Menu

रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः सञ्चालन

रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः सञ्चालन

काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः नियमित रूपमा सञ्चालनमा आएको जनाएको छ । 

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा अवस्थित उक्त जलविद्युत केन्द्रमा २०८२ साल असार २४ गते आएको भीषण हिमबाढीका कारण विद्युतगृह, जलमार्ग तथा अन्य महत्वपूर्ण संरचना एवं मेसिन उपकरणहरूमा ठूलो क्षति पुगेको थियो। 

उक्त प्राकृतिक विपद्का कारण सिर्जना भएको काबुभन्दा बाहिरको परिस्थितिले जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पूर्ण रूपमा बन्द हुन पुगेको थियो।

हिमबाढीपछिको अवस्थामा कम्पनीले क्षतिग्रस्त संरचना तथा उपकरणहरूको विस्तृत प्राविधिक मूल्याङ्कन गरी पुनःस्थापना तथा पुनर्निर्माणका कार्यहरू तीव्र रूपमा अघि बढाएको थियो। आवश्यक मर्मत, उपकरण प्रतिस्थापन तथा प्राविधिक परीक्षणहरू सम्पन्न भएपछि जलविद्युत केन्द्रका तीनवटै उत्पादन युनिट क्रमिक रूपमा सञ्चालनमा ल्याइएका थिए।

यद्यपि आगामी वर्षायाममा समेत कुनै अवरोधबिना पूर्ण क्षमतामा विद्युत उत्पादन सुनिश्चित गर्ने उद्देश्यले वर्षायाम प्रारम्भ हुनुअघि सम्पन्न गर्नुपर्ने थप पुनःस्थापना तथा पुनर्निर्माणका कार्यहरू बाँकी रहेका कारण कम्पनीले २०८३ जेठ २६ गतेदेखि असार १४ गतेसम्म जलविद्युत केन्द्रबाट विद्युत उत्पादन अस्थायी रूपमा बन्द गरेको थियो।

यस अवधिमा आवश्यक सबै प्राविधिक तथा संरचनागत सुधार, मर्मत तथा पुनर्निर्माणका कार्यहरू सफलतापूर्वक सम्पन्न गरिएको कम्पनीले जनाएको छ। 

निर्धारित कार्य सम्पन्न भएपछि आवश्यक परीक्षण तथा सञ्चालन तयारी पूरा गरी २०८३ असार १५ गतेदेखि रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हाल जलविद्युत केन्द्रका तीनवटै युनिटबाट विद्युत उत्पादन सुचारु रहेको छ र आगामी वर्षायाममा समेत सुरक्षित, भरपर्दो तथा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आवश्यक सम्पूर्ण प्राविधिक तयारी सम्पन्न गरिएको छ।

Advertisment