Below Menu
Below Menu

ओशो वर्ल्ड ट्राभलले एकै वर्षमा बेच्यो करिब १० अर्बको टिकट, तरलता र ऋण व्यवस्थापनमा भने सकस

ओशो वर्ल्ड ट्राभलले एकै वर्षमा बेच्यो करिब १० अर्बको टिकट, तरलता र ऋण व्यवस्थापनमा भने सकस

काठमाडौं : नेपालमा तीन दशक लामो समयदेखि अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको ओशो वल्र्ड ट्राभल नेपाल प्रालिको पछिल्ला वर्षहरुमा व्यापार निरन्तर रुपमा बढ्दो क्रममा रहेको छ । कम्पनीले एक वर्षमा झण्डै १० अर्ब रुपैयाँको व्यापार गरेको छ । 

कम्पनीले सन् २०२५ मा ९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा २.८० प्रतिशतले बढी हो ।
सन् २०२४ मा कम्पनीले ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले ७ अर्ब ८७ करोड रुपैयाँको व्यापार गरेको थियाे। 

त्यस्तै कम्पनीले सन् २०२२ मा ५ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कोभिड–१९ महामारीपछि अन्तर्राष्ट्रिय हवाई यात्राको माग पुनः बढेसँगै कम्पनीको कारोबार पनि उल्लेखनीय रुपमा बढेको हो । 

यद्यपि आम्दानी बढे पनि कम्पनीको सञ्चालन नाफा भने ०.५ प्रतिशतकै हाराहारीमा सीमित रहेको छ । ट्राभल एजेन्सी क्षेत्रमा तीव्र प्रतिस्पर्धा र न्यून नाफाको मार्जिनका कारण कम्पनीको आम्दानीको तुलनामा नाफा सीमित रहेको रिपोर्टमा उल्लेख छ । 

कम्पनीको वित्तीय संरचनामा पनि ऋणको भार उच्च रहेको देखिएको छ । सन् २०२५ मा कुल ऋण कम्पनीको मूर्त खुद सम्पत्तिको करिब २.७ गुणा पुगेको छ भने कुल बाह्य दायित्व खुद सम्पत्तिको ५.७ गुणा रहेको छ ।

सञ्चालन नाफा कमजोर भएका कारण कम्पनीको ऋण भुक्तानी क्षमता पनि सिमित रहेको रिपोर्टमा उल्लेख छ । यस अवधिमा कम्पनीको ऋण भुक्तानी क्षमता १.१ गुणा मात्र रहेको उल्लेख छ ।

कम्पनीको तरलता अवस्था पनि दबाबपूर्ण रहेको देखिएको छ । कम्पनीले ग्राहकबाट औसत ३० दिनमा भुक्तानी उठाउने गरेको भएपनि तर अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीएफ) लाई भने करिब १५ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । यसले गर्दा कम्पनीको कार्यशील पुँजीमा दबाब पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । 

यही कारण कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कार्यशील पुँजी कर्जा सुविधाको अत्यधिक प्रयोग गर्दै आएको छ । सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीले स्वीकृत कर्जा सीमाको करिब ११७ प्रतिशत बराबर उपयोग गरेको देखिएको छ ।

हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब २० करोड २५ लाख रुपैयाँ बराबरको ऋण सुविधा उपयोग गरिरहेको छ । यसमध्ये १३ करोड २५ लाख ४० हजार रुपैयाा दीर्घकालिन ऋण सुविधा रहेको छ भने एक अर्ब ७ करोड अल्पकालिन ऋण सुविधा रहेको छ । 

पुनः पुष्टि गरिएको मूल्यांकनअनुसार कम्पनीको दीर्घकालीन ऋण सीमा भने १८ करोड रुपैयाँबाट घटेर १३ करोड २५ लाख रुपैयाँमा सिमित गरिएको छ भने अल्पकालिन ऋण सीमा यथावत राखिएको छ ।  

रेटिङ एजेन्सीले ओशो वल्र्ड ट्राभल नेपालको दीर्घकालीन ऋण सुविधामा बी प्लस र अल्पकालीन ऋण सुविधामा एफोर रेटिङ पुनः पुष्टि गरेको छ । 

सन् १९९१ नोभेम्बर २१ मा स्थापना भएको ओशो वल्र्ड ट्राभल नेपाल प्रालि नेपालका पुराना अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)  मान्यता प्राप्त हवाई टिकट बिक्री एजेन्सीमध्ये एक हो। 

कम्पनीले नेपाल एयरलाइन्स, थाई एयरवेज, गल्फ एयर, एतिहाद एयरवेज, कतार एयरवेज, ओमान एयर, एयर अरेबिया, एयर इन्डियालगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

कम्पनी पारिवारिक स्वामित्वमा सञ्चालन भईरहेको छ । कम्पनीका प्रमुख प्रवद्र्धक तथा प्रबन्ध निर्देशक श्यामराज थपलियाको कम्पनीमा ९० प्रतिशत स्वामित्व रहेको छ भने बाँकी १० प्रतिशत शेयर उनकी श्रीमती राखी थपलियाको नाममा रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । 
 

ताजा पोस्ट

Advertisment

थप समाचार