काठमाडौं : पोखरास्थित बेगनास ताल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको लक्जरी वेलनेस रिसोर्ट सञ्चालनमा आउने भएको छ । वाटफोर्ड होटल म्यानेजमेन्टले सवा एक अर्ब रुपैयाँ लगानीमा ‘वाटफोर्ड वेलनेस रिट्रिट’ रिसोर्ट निर्माण गर्न लागेको हो ।
कम्पनीले रिसोर्टलाई सन् २०२७ को जुलाई १७ देखि व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ। निर्माणाधीन रिसोर्टमा ६४ वटा कोठा रहनेछन्।
परियोजनाको कुल अनुमानित लागत एक अर्ब १४ करोड ९० लाख रुपैयाँ रहेको छ । जसमा ६० प्रतिशत ऋण र ४० प्रतिशत इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको छ ।
कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ भने हालसम्म ८ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको शेयर आवेदन रकमसहित आवश्यक इक्विटीको करिब ८७ प्रतिशत लगानी भइसकेको छ ।
यद्यपि, ऋण व्यवस्थापन भने अझै पूर्ण रूपमा टुंगिएको छैन । हालसम्म कम्पनीले ४० करोड रुपैयाँ मात्र ऋण स्वीकृत गराएको छ । उक्त ऋणलाई अर्को बैंकमार्फत रिफाइनान्स गर्दै ७० करोड रुपैयाँसम्म विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
हाल परियोजनाको करिब ४८ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले जनाएको छ । रिसोर्ट हङकङस्थित आर्गिल होटल्स ग्रुप को फ्रेन्चाइजअन्तर्गत सञ्चालन हुनेछ ।
परियोजनाले लक्जरी आतिथ्य सेवा र समग्र स्वास्थ्य (होलिस्टिक वेलनेस) अनुभवलाई एकै स्थानमा उपलब्ध गराउने अवधारणामा आधारित बुटिक रिसोर्ट विकास गरिरहेको कम्पनीको भनाइ छ।
रेटिङ एजेन्सीले कम्पनीलाई उपलब्ध हुने ७१ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि दीर्घकालीनतर्फ ‘बीबी माइनस’ र अल्पकालीनतर्फ ‘एफोर’ रेटिङ प्रदान गरेको छ ।
कम्पनीले दीर्घकालिन कर्जाका लागि ७० करोड रुपैयाँ र अल्पकालिन कजाएका लागि एक करोड ५० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । साथै कम्पनीले ३ करोड ५० लाख रुपैयाँसम्मको गैर–कोष आधारित लेटर अफ क्रेडिट तथा बैंक ग्यारेन्टी सुविधा पनि उपयोग गर्न सक्ने प्रस्ताव गरेको छ
कम्पनीका प्रमुख प्रवद्र्धक दिनेशकुमार कान्था रहेका छन् । होटल व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव रहेका कान्था हाल आर्गिल होटल्स ग्रुपअन्तर्गत महाप्रबन्धकको जिम्मेवारीमा छन् । उनले चीनका विभिन्न अन्तर्राष्ट्रिय होटलमा सञ्चालन तथा प्रि–ओपनिङ व्यवस्थापनको अनुभव हासिल गरेका छन् ।
बेगनास ताल क्षेत्र पोखराको मुख्य शहरी भीडभाडभन्दा बाहिर शान्त र प्राकृतिक वातावरणमा अवस्थित भएकाले वेलनेस तथा मनोरञ्जन पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ ।
साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहज पहुँचले स्वदेशी तथा विदेशी पर्यटकलाई सुविधा पुग्ने र दीर्घकालमा रिसोर्टको अकुपेन्सी तथा आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालि सन् २०१९ अक्टोबर १ मा नेपालमा दर्ता भएको कम्पनी हो । कम्पनीले २०२३ सेप्टेम्बर ४ मा उद्योग विभागबाट पर्यटन उद्योगका रूपमा स्वीकृति प्राप्त गरेको थियो । कम्पनीमा प्रवद्र्धक दिनेशकुमार कान्थाको ९७ प्रतिशत स्वामित्व रहेको छ ।
Advertisment