तेह्रथुम पावरले नर्थ समिट हाइड्रोमा सवा चार करोड बढी लगानी गर्ने 

तेह्रथुम पावरले नर्थ समिट हाइड्रोमा सवा चार करोड बढी लगानी गर्ने 

काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले नर्थ समिट हाइड्रोमा सवा चार करोड बढी लगानी गर्ने भएको छ।

असार १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ६७औँ बैठकले उक्त आयोजनाको साधारण शेयर खरिद गर्ने निर्णय गरेको हो। उक्त निर्णयका बारेमा कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ।

कम्पनीका अनुसार प्रचलित कम्पनी ऐन, कम्पनीको प्रबन्धपत्र तथा नियमावली र आठौँ वार्षिक साधारणसभाबाट प्राप्त स्वीकृतिअनुसार नर्थ समिट हाइड्रो लिमिटेडमा लगानी गर्ने निर्णय गरिएको हो। 

तेह्रथुम पावरले प्रतिकित्ता १०० रुपैयाँका दरले चार करोड १८ लाख ७३ हजार ८०० रुपैयाँ बराबरको चार लाख १८ हजार ७३८ कित्ता साधारण शेयर खरिद गर्ने भएको हो ।

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिरहेको २१.४ मेगावाट क्षमताको न्यादी–फिदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। 

कम्पनीले विद्युत् विकास विभागबाट सर्वेक्षण तथा उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने आयोजना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जनाएको छ। आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसमेत तय गरिएको छ।