जयविर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, ७ दिनभित्र उपस्थित हुन आदेश

जयविर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, ७ दिनभित्र उपस्थित हुन आदेश

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक (ललितपुर) ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरेको छ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयविर सिंह देउवासँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

विभागका अनुसार जयविर सिंह देउवाको स्थायी ठेगाना डडेलधुरा जिल्लाको साविक आसिग्राम गाविस–५ रहेको तथा हाल काठमाडौं महानगर क्षेत्रअन्तर्गत बूढानीलकण्ठ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्।

सूचनाअनुसार, उनलाई ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी–ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना जारी गरिएको विभागले जनाएको छ। तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानूनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि विभागले चेतावनी दिएको छ।