सिद्धार्थ आयलले गर्यो नौ महिनामै एक अर्बमाथिको व्यापार, स्थापित ब्रान्ड ‘तेज’ भने विवादमा

सिद्धार्थ आयलले गर्यो नौ महिनामै एक अर्बमाथिको व्यापार, स्थापित ब्रान्ड ‘तेज’ भने विवादमा

काठमाडौं : सिद्धार्थ आयल इन्डष्ट्रिजले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब एक करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर रुपमा बढ्दै गएको हो । कम्पनीले सन् २०२५ मा एक अर्ब ५० करोडको व्यापार गरेको थियो । 

यसअघि सन् २०२४ मा कम्पनीले एक अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ मा एक अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२५ मा विश्व बजारमा खाने तेलको कच्चा पदार्थको मूल्यमा आएको तीव्र उतारचढावका कारण सञ्चालन नाफा मार्जिन करिब १.४ प्रतिशत मा सीमित भएको थियो ।

तर, चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मार्जिन बढेर करिब ६.८ प्रतिशत पुगेको छ । ब्याजदरमा आएको कमी र सञ्चालन नाफामा भएको सुधारले कम्पनीको ऋण भुक्तानी क्षमता पनि बलियो बनेको देखिएको छ ।

यस अवधिमा कम्पनीको इन्ट्रेस्ट कभरेज रेसियो गुणा र डेब्ट सर्भिस कभरेज रेसियो  ४.६ गुणासम्म पुगेको छ । चालु आवको नौ महिनामा कम्पनीको नेट वर्किङ क्यापिटल र सञ्चालन आम्दानीको अनुपात करिब ५५ प्रतिशत पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा यो अनुपात करिब १९ प्रतिशत थियो । 

सिद्धार्थ आयल इन्डस्ट्रिजले मुख्य रूपमा ‘तेज’ ब्रान्डको तोरीको तेल उत्पादन गर्दै आएको छ। कम्पनीको बिक्रीको ठूलो हिस्सा नेपालको पश्चिमी क्षेत्रमा केन्द्रित छ। उत्पादनका लागि आवश्यक सम्पूर्ण तोरीको बीउ भने अष्ट्रेलिया, क्यानडा र युक्रेनबाट आयात गरिन्छ।

त्यसैले विदेशी विनिमय दरमा हुने उतारचढाव, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य परिवर्तन तथा आयात–निर्यातसम्बन्धी सरकारी नीतिमा हुने परिवर्तनले कम्पनीको लागत र नाफामा प्रत्यक्ष असर पार्न सक्ने जोखिम रहेको छ।

यसैगरी, तोरी पेल्दा निस्कने डी–आइल्ड केकको ठूलो हिस्सा भारत निर्यात हुने भएकाले भारतको व्यापार नीतिमा हुने परिवर्तनले पनि कम्पनीको आम्दानी प्रभावित हुन सक्ने सम्भावना रहेको छ।

रुपन्देहीको गुरबानियास्थित उद्योगबाट उत्पादन हुने ‘तेज’ ब्रान्डको तोरीको तेल बजारमा स्थापित ब्रान्डमध्ये एक मानिए पनि हालै कम्पनी गुणस्तरसम्बन्धी विवादमा परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको ‘तेज’ ब्रान्डको तोरीको तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा तोकिएको अनिवार्य मापदण्डअनुसार गुणस्तर कायम नभएको निष्कर्ष निकालेको थियो।

विभागका अनुसार रुपन्देहीको गुरबानियाँस्थित उद्योगमा आयातित तोरीको गेडाबाट उत्पादन गरिएको ब्याच नम्बर २० को तेलमा कैफियत भेटिएको हो। उत्पादन मिति २०८२ फागुन २८ रहेको उक्त ब्याचको तेल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नगरेकाले उपभोगका लागि अनुपयुक्त ठहर गरिएको छ। त्यसपछि विभागले सो ब्याचको तेल तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री वितरण रोक्न निर्देशन दिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार न्यूनस्तरको वा मिसावटयुक्त खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने उद्योगलाई आर्थिक जरिबानासहित निश्चित अवधिसम्म कैद सजायसमेत हुन सक्ने कानुनी व्यवस्था रहेको छ। 

सन् १९९९ देखि सञ्चालनमा रहेको सिद्धार्थ आयल इन्डस्ट्रिज सिद्धार्थ समूहअन्तर्गत सञ्चालित कम्पनी हो। यसको कर्पोरेट कार्यालय रुपन्देहीको सिद्धार्थनगरमा रहेको छ भने उत्पादन केन्द्र गुरबानियामा अवस्थित छ। कम्पनीमा जगदीश कुमार अग्रवालको ३० प्रतिशत, राजेश कुमार अग्रवालको ४० प्रतिशत तथा श्याम सुन्दर अग्रवालको ३० प्रतिशत स्वामित्व रहेको छ।

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब ११ करोड ४० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ३७ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि एक अर्ब ११ करोड तीन लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो । 

थप समाचार