एआई चिपको उच्च मागसँगै सामसुङको नाफा १८ सय प्रतिशतले बढ्यो, कमायो ५८ अर्ब डलर 

एआई चिपको उच्च मागसँगै सामसुङको नाफा १८ सय प्रतिशतले बढ्यो, कमायो ५८ अर्ब डलर 

काठमाडौं : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै विश्वभर एआईका लागि आवश्यक मेमोरी चिपको माग उल्लेखनीय रूपमा बढिरहेको छ। एआई चिपको उच्च मागको प्रत्यक्ष लाभ दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले उठाएको छ। 

कम्पनीले चालु वर्षको दोस्रो त्रैमास (अप्रिल–जुन) मा आफ्नो सञ्चालन नाफा करिब १९ गुणाले बढ्ने अनुमान सार्वजनिक गरेको छ। 

सामसुङले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक वित्तीय विवरण (अर्निङ्स गाइडेन्स) अनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा कम्पनीको सञ्चालन नाफा ८९.४ ट्रिलियन दक्षिण कोरियाली वोन पुगेको अनुमान गरिएको छ । जुन करिब ५८.४ अर्ब अमेरिकी डलर बराबर हो। यो वृद्धि गत वर्षको सोही अवधिको तुलनामा झण्डै १,८०० प्रतिशतले बढी हो। कम्पनीले लगातार तेस्रो त्रैमासमा रेकर्ड सञ्चालन नाफा हासिल गर्ने अनुमान पनि गरेको छ।

दक्षिण कोरियाका ठूला सूचीकृत कम्पनीहरूले विस्तृत वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुअघि लगानीकर्तालाई कम्पनीको सम्भावित अवस्थाबारे जानकारी दिन प्रारम्भिक आम्दानी अनुमान सार्वजनिक गर्ने व्यववस्था रहेको छ। सामसुङको विस्तृत वित्तीय प्रतिवेदन भने यसै महिनाको अन्त्यतिर सार्वजनिक हुने जनाइएको छ । 

कम्पनीका अनुसार दोस्रो त्रैमासमा कुल बिक्री आम्दानी करिब १७१ ट्रिलियन वोन पुगेको छ ।  जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो। विश्वभर एआई पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेका कारण उच्च क्षमताका मेमोरी चिपको माग बढेको र आपूर्ति त्यसअनुसार विस्तार हुन नसक्दा चिपको मूल्यसमेत उल्लेखनीय रूपमा बढेको कम्पनीले जनाएको छ।

बजार अनुसन्धान संस्था काउन्टरपोइन्ट रिसर्चका विश्लेषक मार्क आइन्स्टाइनका अनुसार सामसुङको यो नतिजा कम्पनीकै इतिहासका उत्कृष्ट त्रैमासिक प्रदर्शनमध्ये एक हो। उनका अनुसार एआई प्रविधिप्रतिको विश्वव्यापी आकर्षणका कारण मेमोरी चिप उत्पादक कम्पनीहरू अहिले असाधारण रूपमा लाभान्वित भइरहेका छन्।

उनले भने, ‘एआई प्रविधिको विस्तारसँगै डाटा सेन्टर, क्लाउड कम्प्युटिङ र उच्च क्षमताका कम्प्युटिङ प्रणालीमा प्रयोग हुने मेमोरी चिपको माग अत्यधिक बढेको छ। सीमित आपूर्ति र अभूतपूर्व मागका कारण चिप उत्पादक कम्पनीहरूले उल्लेखनीय आम्दानी गरिरहेका छन्।’

अनुसन्धान संस्था आईडीसीका अनुसार अहिले एआई डाटा सेन्टरका लागि आवश्यक सेमिकन्डक्टरको माग विगतमा कहिल्यै नदेखिएको स्तरमा पुगेको छ। यसले सामान्य उपभोक्ताका लागि उत्पादन हुने इलेक्ट्रोनिक उपकरणमा प्रयोग हुने चिपको आपूर्तिमा समेत प्रभाव पारेको छ। आईडीसीका प्रविधि अनुसन्धानकर्ता ब्रायन माका अनुसार आगामी वर्षसम्म पनि एआई पूर्वाधार विस्तारको गति कम नहुने भएकाले चिपको आपूर्ति अभाव कायम रहने सम्भावना छ।

विश्वकै सबैभन्दा ठूलो सेमिकन्डक्टर उत्पादकमध्ये एक सामसुङले आफ्नै स्मार्टफोन, टेलिभिजन तथा अन्य इलेक्ट्रोनिक उपकरणका लागि मात्र होइन, एनभिडिया, गुगललगायत विश्वका प्रमुख प्रविधि कम्पनीहरूका लागि पनि चिप उत्पादन गर्दै आएको छ। पछिल्लो समय एआई चिपको माग बढेसँगै विश्वका अधिकांश प्रविधि कम्पनीहरूको सेयर मूल्य पनि उल्लेखनीय रूपमा उकालो लागेको छ।

यद्यपि, कम्पनीले अपेक्षाभन्दा राम्रो नतिजा सार्वजनिक गरे पनि मंगलबार सोल स्टक एक्सचेन्जमा सामसुङको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको थियो।  केही लगानीकर्ताले कम्पनीको नाफा अनुमान अझै उच्च हुने अपेक्षा गरेका कारण बजारमा नाफा बुक गर्ने प्रवृत्ति देखिएको हो।

यस वर्षको सुरुदेखि सामसुङको बजार मूल्य दोब्बरभन्दा बढी बढिसकेको छ। त्यस्तै, दक्षिण कोरियाकै अर्को प्रमुख मेमोरी चिप निर्माता एसके हाइनिक्सको बजार मूल्य २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यी दुई कम्पनीको मजबुत प्रदर्शनले दक्षिण कोरियाको प्रमुख शेयर सूचकांक कोस्पीलाई पनि यस वर्ष ८० प्रतिशतभन्दा बढीले उकालो लगाउन महत्वपूर्ण योगदान दिएको छ।

यसअघि गत मे महिनामा अमेरिकी एआई चिप निर्माता एनभिडियाले पनि जनवरीदेखि मार्चसम्मको अवधिमा ८० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्दै इतिहासकै उच्च त्रैमासिक बिक्री र नाफा सार्वजनिक गरेको थियो। यद्यपि उत्कृष्ट नतिजाका बाबजुद त्यसबेला कम्पनीको सेयर मूल्य केही घटेको थियो ।   

एआई प्रविधिको तीव्र विकाससँगै चिप उत्पादनमा विश्वव्यापी प्रतिस्पर्धा पनि चुलिँदै गएको छ। गत जुन महिनामा दक्षिण कोरिया सरकारले सामसुङ र एसके हाइनिक्सको नेतृत्वमा आगामी वर्षहरूमा चिप उत्पादन क्षमता विस्तार गर्न कम्तीमा ८८० अर्ब अमेरिकी डलर बराबरका परियोजनामा लगानी गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको थियो। 

त्यस्तै जापान, चीन र ताइवानका प्रमुख प्रविधि कम्पनीहरूले पनि एआई चिपको बढ्दो माग पूरा गर्न नयाँ सेमिकन्डक्टर उद्योग तथा उत्पादन केन्द्रमा अर्बौं डलर लगानी गरिरहेका छन्।

थप समाचार