भायानेट कम्युनिकेसनले गर्यो दुई अर्ब ४० करोडको व्यापार, रोयल्टी र आरटीडीएफले नाफामा दबाब

भायानेट कम्युनिकेसनले गर्यो दुई अर्ब ४० करोडको व्यापार, रोयल्टी र आरटीडीएफले नाफामा दबाब

काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२५ मा २ अर्ब ४० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ४.२४ प्रतिशतले बढी हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब २३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा २ अर्ब १७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा २ अर्ब २३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । 

व्यापार बढेपनि अतिरिक्त नियामकीय दायित्वका कारण कम्पनीको सञ्चालन नाफामा भने दबाब देखिएको छ । रोयल्टी तथा ग्रामिण दुरसञ्चार विकास कोष (आरटीडीएफ) सम्बन्धी अतिरिक्त खर्च बढेपछि कम्पनीको पीबीआईएलटीडी सन् २०२४ को ७७ करोड ४० लाख रुपैयाँबाट घटेर सन् २०२५ मा ७४ करोड ८० लाख रुपैयाँ मा झरेको छ । 

सन् २०२४ मा ३३.५५ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन घटेर ३१.११ प्रतिशत कायम रहेको छ । त्यसका बाबजुद कम्पनीले सन् २०२५ मा ५४ करोड १० लाख रुपैयाँ बराबरको नगद आम्दानी गरेको छ । 

सन् २०२५ मा कम्पनीको करिब ६४ प्रतिशत आम्दानी खुद्रा इन्टरनेट तथा आईपीटीभी सेवा बाट आएको छ भने बाँकी आम्दानी साना व्यवसाय, होम अफिस, कर्पोरेट ग्राहक तथा अन्य आईटी सेवाबाट प्राप्त भएको छ ।

कम्पनीको कुल ऋण र ग्रस क्यास एक्रुअल अनुपात सन् २०२४ को ३.४४ गुणा बाट बढेर सन् २०२५ मा ४.३६ गुणा पुगेको छ । यस्तै ब्याज भुक्तानी क्षमता सन् २०२४को ३.६६ गुणाबाट घटेर ३.५७ गुणामा सीमित भएको छ । यद्यपि कम्पनीले अझै पनि आफ्नो ऋणको ब्याज तथा किस्ता तिर्न सक्ने क्षमता कायम राखेको रेटिङ एजेन्सीले जनाएको छ ।

कम्पनीले पहिलोपटक केयर रेटिङ्स नेपालबाट औपचारिक कर्जा रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन बैंकिङ सुविधा २७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जालाई डबल बी माइनस तथा अल्पकालीन २ अर्ब ९० करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ सुविधालाई एफोर’ रेटिङ प्रदान गरेको हो । कम्पनीको कुल बैंकिङ सुविधा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

सर्वोच्च अदालतको २०२४ मे १३ को फैसलाले कम्पनीको रेटिङमा प्रभाव पारेको जनाइएकाे छ । उक्त फैसलाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तिर्दै आएको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष  शुल्कलाई केवल ब्यान्डविथ शुल्कमा मात्र नभई मर्मतसम्भारमा समेत लागू हुने व्यवस्था गरेको थियो । 

यसपछि विगतका वर्षदेखि बाँकी रहेका दायित्व एकमुष्ट रूपमा तिर्नुपरेपछि कम्पनीको ऋण उल्लेखनीय रूपमा बढेको र वित्तीय अवस्था कमजोर बनेको प्रतिवेदनमा उल्लेख छ । 

कम्पनीले करिब ४३ करोड ३० लाख रुपैयाँ बराबरको रोयल्टी तथा आरटीडीएफ दायित्वको अधिकांश रकम ऋण लिएर भुक्तानी गरेपछि समग्र ऋणभार बढेको र नेटवर्थमा पनि दबाब परेको उल्लेख गरिएको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । हाल देशभर ६० भन्दा बढी इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहे पनि बजारको ९९ प्रतिशतभन्दा बढी हिस्सा शीर्ष २० कम्पनीले ओगटेका छन् । 

त्यसमध्ये शीर्ष पाँच कम्पनीले मात्रै करिब ७१ प्रतिशत बजार हिस्सा ओगेटेका छन् । भियानेटको बजार हिस्सा करिब १०.३ प्रतिशत रहेको छ । कम्पनी हाल ग्राहक संख्याका आधारमा नेपालको चौथो ठूलो इन्टरनेट सेवा प्रदायक हो । 

सन् १९९९ मा स्थापना भएको कम्पनीले करिब २५ वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले ५८ जिल्लामा सेवा विस्तार गरिसकेको छ ।  इन्टरनेटसँगै कम्पनीले आईपीटीभी, डेटा कनेक्टिभिटी, नेटवर्क तथा आईटी समाधान समेत उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक बिनय बोहरा रहेका छन् भने कम्पनीकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक चार्टर्ड एकाउन्टेन्ट हुन् । बोहोराको ८५ प्रतिशत शेयर स्वामित्व रहेकाे छ । 


 
 

थप समाचार