काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीको लाइसेन्स स्वतः खारेज भएको जनाएको छ।
मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ मा भएको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि निर्माण व्यवसायीहरूले २०८२ साल चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गरिसक्नुपर्ने थियो। निर्धारित अवधिसम्म नवीकरण प्रक्रिया पूरा नगरेपछि सम्बन्धित कम्पनीहरूको इजाजत स्वतः खारेज भएको हो।
निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४ को उपदफा (३) ले प्रत्येक आर्थिक वर्षमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, सोही ऐनको दफा ७ को उपदफा (३) अनुसार तोकिएको समयसीमाभित्र नवीकरण नगर्ने निर्माण व्यवसायीको इजाजत स्वतः खारेज हुने कानुनी प्रावधान रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार स्वतः खारेज हुने सूचीमा ‘क’ वर्गदेखि ‘ग’ वर्गसम्मका ४४ निर्माण व्यवसायी फर्म तथा कम्पनी परेका छन्।
मन्त्रालयले निर्माण व्यवसायीलाई कानुनी व्यवस्था पालना गर्दै समयमै इजाजतपत्र नवीकरण गर्न समेत आग्रह गरेको छ।
स्वतः खारेज हुने सूचीमा जेयी कन्स्ट्रक्सन प्रालि, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि, जनमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि, चेतना कन्स्ट्रक्सन प्रालि, सप्तकोशी जलाधार निर्माण कम्पनी प्रालि, नेपाल बिल्डर्स एन्ड इन्जिनियरिङ कम्पनी प्रालिलगायतका निर्माण कम्पनी परेका छन् ।
त्यस्तै, आहा कन्स्ट्रक्सन, क्याल्भिन कन्स्ट्रक्सन, नेपाल मदर कन्स्ट्रक्सन, प्रकाश कन्स्ट्रक्सन, आभा कन्स्ट्रक्सन, प्रतिमा कन्स्ट्रक्सन, मनकामना कन्स्ट्रक्सन एण्ड बिल्डर्स, डिएसपी इन्फ्रा प्रालि, प्रयाग दत्त एण्ड सन्स कन्स्ट्रक्सन, पूर्वकोशी निर्माण सेवा, प्रोफेसनल इन्जिनियर्स एन्ड बिल्डर्स प्रालि, इन्द्र ज्वाला निर्माण सेवा, ऊँ माने पेम्पे हु निर्माण सेवा, सुपर सोनिक कन्स्ट्रक्सन प्रालिको लाइसेन्स खारेज हुने भएको हो ।
यस्तै, निलम निर्माण सेवा, प्रोग्रेस एण्ड डेभलपमेन्ट कन्स्ट्रक्सन, ईसु निर्माण सेवा, दरबार निर्माण सेवा, चौफा निर्माण सेवा, प्रतिभा कन्स्ट्रक्सन, एल. जे. एस. कन्स्ट्रक्सन, जुपिटर कन्स्ट्रक्सन, बुद्ध एण्ड फुर्वा निर्माण सेवा, ओम नमो शिवाय निर्माण सेवा, बी.एस. कन्स्ट्रक्सन, ए. सि. सि. निर्माण सेवा, न्यू सताकृ त्रिम्ती कन्स्ट्रक्सन, पोखरेल निर्माण सेवा, बि.डी. निर्माण सेवा, लाङ्घाली निर्माण सेवा, बहादुर थिङ्ग निर्माण सेवा, दिगो निर्माण सेवा, रिङ्का कन्स्ट्रक्सन, आयुमा एण्ड आकृति कन्स्ट्रक्सन र किशो बिल्डर्सको लाइसेन्स खारेज भएको हो ।
*तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जना गरिएको प्रतीकात्मक चित्र हो।