सरकारी भुक्तानी तीव्र हुँदा बैंकिङ प्रणालीमा एकैदिन थपियो ३८ अर्ब निक्षेप 

सरकारी भुक्तानी तीव्र हुँदा बैंकिङ प्रणालीमा एकैदिन थपियो ३८ अर्ब निक्षेप 

काठमाडौं : बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ३८ अर्ब रुपैयाँले बढेर ८१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् असार १८ गतेसम्म यस्तो निक्षेप ८१ खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो।

सोही अवधिमा वाणिज्य बैंकहरूमा मात्र ३७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। अघिल्लो दिन ७३ खर्ब ४४ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप बढेर ७३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। अन्य वित्तीय संस्थाहरूमा पनि एक अर्ब रुपैयाँ निक्षेप बढ्दै कुल ७ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेपसँगै कर्जा प्रवाहमा पनि सामान्य वृद्धि देखिएको छ। राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट एक अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। 

हाल बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ५९ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। जसमध्ये वाणिज्य बैंकहरूको कर्जा लगानी ५२ खर्ब ७६ अर्ब रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ६ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ।

यस अवधिमा अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमै स्थिर रहेको छ भने कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७१.९३ प्रतिशतमा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यसैबीच, असार मसान्त नजिकिँदै जाँदा सरकारले बजेट खर्चको भुक्तानीलाई तीव्र बनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साताअघि सरकारी भुक्तानी रोक्नुपर्ने व्यवस्था भए पनि महालेखा नियन्त्रक कार्यालयको विशेष निर्णयबाट केही अनिवार्य दायित्वको भुक्तानी २५ असारसम्म गर्न सकिने व्यवस्था छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अवकाशप्राप्त कर्मचारीको उपदान, सञ्चित बिदा तथा औषधि उपचारबापतको रकमसहित केही अनिवार्य दायित्व र विविध कारणले रोकिएका परियोजनाका भुक्तानीलाई २५ असारसम्म सहजीकरण गरिएको छ।

असार १८ गते मात्रै सरकारले १२ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ सरकारी भुक्तानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यससँगै चालु आर्थिक वर्षको बजेट खर्च १४ खर्ब ६९ अर्ब ८९ करोड रुपैयाँ अर्थात् विनियोजित बजेटको ७४.८४ प्रतिशत पुगेको छ। यही सरकारी भुक्तानीको प्रभावका कारण बैंकिङ प्रणालीमा निक्षेप थपिँदै गएको देखिएको छ।

थप समाचार