नयाँ दिल्ली : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेर ६ महिनाकै न्यून स्तरमा पुगे पनि भारतमा पेट्रोल–डिजेलको खुद्रा मूल्य भने यथावत् राखिएको छ। हालको अवस्थामा सरकारी तेल कम्पनीहरूले पेट्रोल र डिजेल बिक्रीबाट प्रतिलिटर दोहोरो अंकको नाफा कमाइरहेको जनाइएको छ ।
अमेरिका–इरानबीचको युद्धका क्रममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल १५७ अमेरिकी डलरसम्म पुगेको थियो। त्यसयता मूल्य लगातार ओरालो लाग्दै अहिले इन्डियन बास्केटको कच्चा तेल प्रतिव्यारेल ६८.६९ अमेरिकी डलरमा झरेको छ । जुन युद्धकालीन उच्च मूल्यभन्दा करिब ५६ प्रतिशत कम हो।
भारतीय सञ्चारमाध्यमका अनुसार यद्यपि, अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटले उपभोक्ताले मूल्य घट्ने अपेक्षा गरे पनि त्यसको प्रत्यक्ष लाभ भने पाउन नसकेको जनाइएको छ ।
डीएएम क्यापिटलको विश्लेषणअनुसार हालको कच्चा तेलको मूल्यमा तेल कम्पनीहरूले पेट्रोलमा प्रतिलिटर करिब १०.५० भारतीय रुपैयाँ र डिजेलमा ११ भारतीय रुपैयाँसम्म मार्जिन कमाइरहेका छन्। कच्चा तेलको मूल्य प्रतिव्यारेल ८७ अमेरिकी डलरभन्दा तल रहँदा तेल कम्पनीहरू ‘ब्रेक–इभेन’ अर्थात् नाफा–घाटा बराबर हुने अवस्थामा पुग्छन्।
तर जुन १ यता कच्चा तेल लगातार यही सीमाभन्दा तल कारोबार भइरहेकोले कम्पनीहरूले पछिल्ला ३६ दिनदेखि निरन्तर नाफा आर्जन गरिरहेको दाबी गरिएको छ। अप्रिल ८ मा अमेरिका–इरानबीच पहिलो युद्धविराम घोषणा भएपछि पनि कच्चा तेलको मूल्य ११५ अमेरिकी डलरभन्दा माथि जान सकेको छैन।
विगतका वर्षहरूको तथ्यांकले पनि अन्तर्राष्ट्रिय बजारको मूल्य र खुद्रा इन्धन मूल्यबीच प्रत्यक्ष सम्बन्ध नदेखिएको संकेत गर्छ। सन् २०१८ मा कच्चा तेलको मूल्य प्रतिव्यारेल ८०.०८ अमेरिकी डलर हुँदा दिल्लीमा पेट्रोल प्रतिलिटर ७२.१५ भारतीय रुपैयाँ र डिजेल ७०.२१ भारतीय रुपैयाँ थियो। त्यसपछि सन् २०२० मा कच्चा तेलको मूल्य घटेर ४३.४१ अमेरिकी डलरमा झर्दासमेत पेट्रोलको मूल्य ६८.२० भारतीय रुपैयाँभन्दा तल झरेन।
यता सन् २०२२ मा कच्चा तेल प्रतिव्यारेल ११९ अमेरिकी डलरसम्म पुग्दा पेट्रोलको मूल्य ९६.७२ भारतीय रुपैयाँ र डिजेल ८९.६२ भारतीय रुपैयाँ पुगेको थियो। तर जनवरी २०२३ मा कच्चा तेल फेरि ७५ अमेरिकी डलरमा झरेपछि पनि पेट्रोल-डिजेलको मूल्य घटाइएन। त्यसबेला सरकारी तेल कम्पनीहरूले अघिल्लो अवधिको घाटा पूर्ति भइरहेको भन्दै मूल्य यथावत् राखेको स्पष्टीकरण दिएका थिए।
यसबीच, कच्चा तेलको मूल्य उच्च रहेको अवधिमा पनि तेल कम्पनीहरूको वित्तीय अवस्था कमजोर बनेन। जनवरीदेखि मार्च २०२६ सम्मको चौथो त्रैमासिकमा देशका चार प्रमुख तेल कम्पनीहरूको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतसम्म बढेको थियो।
यही अवधिमा अमेरिका-इरान युद्ध सबैभन्दा तीव्र बनेको थियो र इन्डियन बास्केटको कच्चा तेल प्रतिव्यारेल १५७ अमेरिकी डलरसम्म पुगेको थियो। मार्च महिनामा मात्रै यसको औसत मूल्य १२५.७ अमेरिकी डलर प्रतिव्यारेल रहेको थियो।
यद्यपि निजी क्षेत्रको नायरा एनर्जीले भने जुलाई १ देखि पेट्रोलको मूल्य प्रतिलिटर ५ भारतीय रुपैयाँ र डिजेलको मूल्य ३ भारतीय रुपैयाँले घटाएको छ। यसपछि भोपालमा नायरा पेट्रोलको मूल्य ११९.७९ भारतीय रुपैयाँबाट घटेर ११४.७९ भारतीय रुपैयाँ र डिजेल १०२.५७ भारतीय रुपैयाँबाट घटेर ९९.५७ भारतीय रुपैयाँमा झरेको छ।
तर सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेशन, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड र हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेडले भने हालसम्म मूल्यमा कुनै परिवर्तन गरेका छैनन्। उल्लेखनीय रूपमा, यी तीन कम्पनीको देशभर रहेका एक लाखभन्दा बढी पेट्रोल पम्पमध्ये ९० प्रतिशतभन्दा बढीमा नियन्त्रण रहेको छ।
यसअघि मे महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएको कारण देखाउँदै यी सरकारी कम्पनीहरूले किस्ताबन्दी रूपमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर कुल ७.५०-७.५० भारतीय रुपैयाँले बढाएका थिए। अहिले कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटिसक्दा पनि खुद्रा मूल्य यथावत् राखिएकाले उपभोक्तामाझ मूल्य कटौतीको माग फेरि चर्किन थालेको छ।