काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका यस सम्बन्धी अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी कार्यान्वयन सफल ढङ्गले अगाडि बढिरहेको बताए ।
कार्यकारी निर्देशक सुवेदीले जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्षको सङ्क्रमणकालमा देखिएका सजिला र अप्ठ्यारा पक्षहरूमा छलफल गरी आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा ठोस निष्कर्ष सहितको सुझाव दिन बीमकहरूलाई आग्रह गरे ।
कार्यकारी निर्देशक सुवेदीले बीमकहरूबाट प्राप्त हुने सुझावहरू समेतका आधारमा जोखिममा आधारित पूँजी सम्बन्धी व्यवस्था व्यावहारिक रूपमा समयानुकूल परिमार्जन हुँदै जाने स्पष्ट गरे ।
प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले जोखिममा आधारित पूँजीको कार्यान्वयन सम्बद्ध सबैको सिकाई, मूल्याङ्कन, समीक्षा तथा विश्लेषण र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा निरन्तर सुधार तथा परिमार्जनका साथ प्रभावकारी रूपले अगाडि बढ्दै जाने बताए ।
कार्यक्रममा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्षको समीक्षा र परिमार्जनका विषयहरू सम्बन्धी प्रस्तुती गरेकी थिइन् ।
उपनिर्देशक मल्लले जोखिममा आधारित पूँजी कार्यान्वयनका सन्दर्भमा प्राधिकरणले बीमकहरूबाट तथ्याङ्कको गुणस्तर तथा प्रणालीमा सुधार, बीमाङ्कीको क्षमता अभिवृद्धि, संस्थागत जोखिम संस्कृतिको विकास, जोखिम व्यवस्थापनको सुदृढीकरण र समयमैं प्रतिवेदन पेशको अपेक्षा गरेको बताइन् ।
जीवन बीमक संघ, नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले जोखिममा आधारित पूँजी कार्यान्वयनका सन्दर्भमा संघले दिएका सुझावहरू ग्रहण गरेकोमा प्राधिकरणप्रति आभार प्रकट गरे ।
कार्यक्रममा सहभागीहरूले जोखिममा आधारित पूँजी कार्यान्वयनका क्रममा हासिल गरेका अनुभव आदान–प्रदान गर्नुका साथै जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिकामा विद्यमान र प्रस्तावित व्यवस्थाका सम्बन्धमा जिज्ञासाहरू राखेका थिए ।
त्यस अवसरमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले प्राधिकरणले यस वर्षदेखि बीमा सम्बन्धी सम्पूर्ण तथ्याङ्कहरू समावेश गरी वार्षिक पुस्तक प्रकाशन गर्न शुरू गरेको र पहिलो वार्षिक पुस्तकका रूपमा ‘इन्स्योरेन्स स्टाटिस्टिकल यएर बुक २०८१/८२’ प्रकाशन गरेको जानकारी दिए ।
कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन शाखा प्रमुख र आरबीसी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक करूणा थापाले गरेकी थिइन् ।