काठमाडौं : चौधरी ग्रुप सीजी फुड्स (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा कम्पनीको व्यापार निरन्तर ओरालो तर्फ देखिएको छ । कम्पनीले सन् २०२५ मा ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यसअघि कम्पनीले सन् २०२४ मा ८ अर्ब १० करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
व्यापारसँगै कम्पनीको सञ्चालन नाफामा पनि पछिल्ला वर्षहरूमा उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा गहुँ, पाम तेललगायत कच्चा पदार्थको मूल्यमा हुने परिवर्तन, अमेरिकी डलरको मजबुती तथा विदेशी विनिमय दरको उतारचढावले उत्पादन लागतमा प्रत्यक्ष असर पारेको प्रतिवेदनमा उल्लेख छ ।
यसका कारण समग्र समूहको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२४ को १२.१ प्रतिशतबाट घटेर २०२५ मा ६.६ प्रतिशत मा झरेको थियो । यद्यपि चालु आर्थिक वर्षको पहिलो नौ महिनामा निर्यात बिक्री बढ्नु र गहुँको मूल्य केही घट्नुका कारण कम्पनीको सञ्चालन नाफा मार्जिन ११.२ प्रतिशत पुगेको छ ।
कम्पनीले आर्थिक वर्ष २०२५ मा अघिल्लो वर्षको खुद नाफाको करिब ९२ प्रतिशत लाभांशका रूपमा वितरण गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा झण्डै १०० प्रतिशत बराबर लाभांश वितरण गरेको छ ।
सन् १९८४ देखि सञ्चालनमा रहेको वाइवाई उत्पादक सीजी फुड्स नेपालले इन्स्ट्यान्ट चाउचाउ, पेय पदार्थ, स्न्याक्स आदि उत्पादन गर्दै आएको छ ।
यस्तै कम्पनीले चाउचाउसँगै रियो पेय पदार्थ, क्विक्स स्न्याक्स, चिप्स तथा अन्य फास्ट मुभिङ कन्जुमर गुड्स समेत उत्पादन गर्दै आएको छ । कम्पनीको कुल आम्दानीमा चाउचाउको हिस्सा करिब ७४ प्रतिशत रहेको छ ।
सीजी फुड्स नेपालको चौधरी समूह अन्तर्गतको सबैभन्दा पुरानो औद्योगिक कम्पनीमध्ये एक हो । कम्पनीमा निर्वाण चौधरीको ७६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
यस्तै कम्पनीमा अपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनी सन् २०२३ मा निजीबाट सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो ।
कम्पनीले अल्पकालिन बैंकिङ कर्जा सुविधाका लागि ९९ करोड ५५ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ ।