कच्चा पदार्थमा भारतले हटायो भन्सार महसुल, स्मार्टफोन र ल्यापटप सस्तो हुने

कच्चा पदार्थमा भारतले हटायो भन्सार महसुल, स्मार्टफोन र ल्यापटप सस्तो हुने

काठमाडौं : भारत सरकारले स्मार्टफोन, ल्यापटप, स्मार्ट टिभी तथा वेयरेबल उपकरण (स्मार्टवाच, फिटनेस ब्यान्ड आदि) निर्माणमा प्रयोग हुने कच्चा पदार्थ र उपकरणमा लाग्दै आएको आधारभूत भन्सार महसुल हटाउने निर्णय गरेको छ। 

भारतको वित्त मन्त्रालयले सूचना जारी गर्दै डिस्प्ले एसेम्बली, लिथियम-आयन सेल तथा इन्डक्टर क्वायल मोड्युल उत्पादनमा प्रयोग हुने सामग्री विदेशबाट आयात गर्दा अब आधारभूत भन्सार महसुल तिर्नुपर्ने नपर्ने जनाएको हो । यो सुविधा ३१ मार्च २०२९ सम्म लागू हुने जनाइएको छ । 

यसका साथै सरकारले ब्याट्री र इलेक्ट्रोनिक्स उत्पादनमा प्रयोग हुने अत्याधुनिक मेसिन तथा उपकरणलाई पनि भन्सार महसुलबाट छुट दिएको छ। अब पाउडर ड्रायर, अटोमेटिक फिडिङ तथा ब्लेन्डिङ सिस्टम, स्लरी ट्रान्सफर सिस्टम, क्याथोड तथा एनोड कोटिङ मेसिन, कम्प्रेसन उपकरण, हाई भ्याकुम पम्प, वाइन्डिङ मेसिन, इलेक्ट्रोड कटिङ तथा स्लिटिङ मेसिन, टेस्टिङ मेसिन, अटो–प्याकिङ सिस्टम, सेपरेटर कोटिङ मेसिन र स्ट्याकिङ मेसिनजस्ता उपकरण आयात गर्दा अतिरिक्त भन्सार कर लाग्ने छैन।

यी सामग्रीमा लाग्ने भन्सार महसुल हटाइएपछि उत्पादन लागत उल्लेखनीय रूपमा घट्दा भारतमा निर्मित स्मार्टफोन, ल्यापटप, स्मार्ट टिभी तथा अन्य इलेक्ट्रोनिक उपकरणको मूल्य घट्न सक्ने अनुमान गरिएको छ।

भारतले हालसम्म डिस्प्ले एसेम्बली, लिथियम–आयन सेललगायतका महत्त्वपूर्ण सामग्रीका लागि विशेषगरी चीन र भियतनामजस्ता देशमा ठूलो मात्रामा निर्भर रहँदै आएको छ। नयाँ व्यवस्थाले स्वदेशमै उत्पादन विस्तार गर्न, लगानी आकर्षित गर्न, रोजगारी सिर्जना गर्न र आयातमा निर्भरता क्रमशः घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ।

 

थप समाचार